भारतको सेमीफाइनल पुग्ने संभावना जिवितै
युएईमा जारी टि–२० विश्वकपमा अन्तरगत स्कटल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा ८ विकेटले विजयी भएको छ ।
स्कटल्याण्डले दिएको ८६ रनको झिनो लक्ष्य पछ्याएको भारत ६.३ ओभरमै २ विकेट गुमाउँदै ८९ रन बनाउँदै जित हात पार्यो । भारतका लागि ओपनर केएल राहुलले १९ बलमै अर्धशतक पुरा गरे । १९ बलमा ५० रन बनाएका राहुलले ३ छक्का र ६ चौका प्रहार गरे । रोहित शर्माले १६ बलमा ३० रन बनाए । उनले ५ चौका र एक छक्का प्रहार गरे । कप्तान विराट कोहली २ र सूर्य कुमार यादव ६ रनमा अविजित रहे । स्कटल्याण्डका मार्क वाट र ब्राड ह्वीलले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको स्कटल्याण्ड १७.४ ओभरमा ८५ रनमा अलआउट भयो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले २४, माइकल लीस्कले २१, म्यनकलोडले १६ र मार्क वाटले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो अंक जोड्न सकेनन् ।
स्कटल्याण्डलाई सस्तैमा समेट्न मोहम्मद शमी र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए भने जसप्रित बुमराहले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए ।
यो जितसंगै भारतको सेमीफाइनल पुग्ने संभावना जिवितै रहेको छ । ४ खेलमा २ जित र २ हारसंगै ४ अंकका साथ भारत तेस्रो स्थानमा उक्लिएको छ । समान ४ अंक रहे पनि नेटरनरेटको आधारमा अफगानिस्तान चौथो स्थानमा झरेको छ ।