आधा जरिवाना तिरे गैरकानूनी हैसियत सच्याउन पाउने

विभिन्न कारणले अवैध भएका कामदार र रोजगारदाताले आधा जरिवाना तिरेर आफ्नो कानूनी हैसियत सच्याउन मिल्ने आन्तरिक मन्त्रालयले बताएको छ।
आप्रवासीको आगमन प्रस्थान र आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर १५ उल्लंघन गरि गैरकानूनी रुपमा बसेका कामदारले ५० प्रतिशत जरिवाना तिरेर वैध हुन सकिने मन्त्रालय अन्तर्गतको संयुक्त सेवा विभागका प्रमुख ब्रिगेडर अब्दुलाह अल अन्सारीले जानकारी दिएका छन् ।
त्यस्तै आफ्नो कामदारको आईडीको प्रक्रिया पूरा नगरेका वा नवीकरण नगर्ने रोजगारदाताले पनि आधा जरिवाना भरेर वैध बनाउन सकिने मन्त्रालयले बताएको छ ।
गएको अक्टोबर १० तारिक देखि सुरु भएको आममाफी अभियानमा झन्डै बीस हजार जनाले निवेदन दिएका छन् । आममाफीको समयावधि यसै वर्षको डिसेम्बर ३१ सम्म रहेको छ । आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका गैरकानुनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको कानुनी हैसियत संशोधण गर्न लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।
१. को कसले आममाफी पाउने ?
कम्पनी छोडेर भागेका कामदार , भिजिट वा अन्य कुनै भिसामा कतार आई आफ्नो भिसाको म्याद सकेर अवैध रुपमा बसेका व्यक्तिले अहिले बिना कुनै जरिवाना र जेल सजाय नभोगी सजिलै संग आफ्नो देश फर्कन पाउनेछन् ।
२. प्रहरीले पक्राउ गर्छ कि गर्दैन ?
आममाफीको प्रकृयामा सहभागी हुन कार्यालय आएका अवैध व्यक्तिलाई प्रहरीले पक्राउ गर्दैन ।
३. के के कागजात चाहिन्छ ?
आममाफीमा सहभागी भै आफ्नो देश फर्कन आफ्नो राहदानी र आफ्नै खर्चमा लिएको हवाई टिकट भए पुग्छ । सरकारले हवाई टिकट उपलब्ध गराउने छैन ।
४. कति शुल्क लाग्छ ?
आममाफीको प्रक्रिया बाट नेपाल फर्कन कुनै शुल्क लाग्दैन । तर अवैध बाट वैध हुन हालसम्म लाग्ने जरिवानाको आधा तिर्नुपर्नेछ ।
५. कति समय लाग्छ ?
मन्त्रालयको कार्यालयमा गएर प्रकृया पूरा गर्न ५ मिनेट भन्दा कम समय लाग्नेछ ।
६. कार्यालयमा के गर्छ ?
मन्त्रालयले राहदानी र टिकट लिई आएका अवैध व्यक्तिको नाम आफ्नो सिस्टम बाट हटाएर एग्जिट पेपर दिनेछ ।
७. अहिले गएर नयाँ भिसामा आउन सकिन्छ ?
सरकारको यस अभियानको प्रक्रिया पालना गरि स्वदेश फर्केका व्यक्ती तुरुन्तै नयाँ भिसामा कतार फर्कन पाउनेछन् ।
८. अवैध व्यक्तिले कम्पनी फेर्न गर्न पाउँछ ?
आईडीको म्याद भएका व्यक्तिले कम्पनी फेर्न पाउनेछन् । त्यस्तै नयाँ कम्पनीले जिम्मा लिने अवस्थामा आईडीको म्याद नभएकाले पनि कम्पनी फेर्न पाउनेछन् । आधा जरिवाना तिरेर पनि कम्पनी फेर्न पाउछ ।
९. निवेदन दिन कहाँ जानुपर्छ ?
आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदार वा रोजगारदाताले मन्त्रालयको कार्यालयमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर आफ्नो कागजपत्र बुझाउनु पर्नेछ ।
१. सर्च एन्ड फलो अप डिपार्टमेन्ट
२. उम सलाल सर्भिस सेन्टर
३. उम सुनैम सर्भिस सेन्टर
४. मेसाइमिर सर्भिस सेन्टर
५. अल वक्रा सर्भिस सेन्टर
६. अल रयान सर्भिस सेन्टर
One Comment