कतारको पीआर कानून बारे बुझ्नुपर्ने कुराहरू

स्थायी बसोबास परिचय पत्र (पीआर) सम्बन्धी २०१८ को कानून नम्बर १० र यो पाउने प्रक्रिया बारे विस्तृत गर्न आज आन्तरिक मन्त्रालयले पत्रकार सम्मेलन गरेको छ। सम्मेलनमा ब्रिगेडर मोहम्मद अहमद अल अतिक, राहदानी विभागका प्रमुख सलिम सक्र अल मुरैखि लगायत अन्य उच्च पदाधिकारहरुको उपस्थिति रहेको थियो।
ब्रिगेडर अल मुरैखिले अमिर बाट जारी गरिएको यस पीआर कानून कतारमा बसोबास गर्ने स्थानीय तथा आप्रवासीहरुको उचित सेवाको निमित्त देशको लगातार प्रयासको प्रतिफल रहेको बताएका छन्। त्यस्तै लामो समयसम्म कतारको सेवामा रहेकाहरु प्रति यो देशको सम्मान स्वरूप रहने उनले बताए।
पीआर कार्ड प्राप्त गर्ने नागरिकले पाउने सुविधाहरु :
- जुनसुकै बेला कतार आउन र छोड्न सक्ने।
- स्पोन्सर बिना नै कतारमा बस्न पाउने।
- तोकिएको अवस्था अनुसार आफ्नो छुट्टै व्यवसाय गर्न पाउने।
- सरकारी कार्यालयहरुमा कतारी जस्तै प्राथमिकता पाउने।

जारी गरिएको कानून अन्तर्गत कतारको स्थायी बसोबास परमिट प्राप्त गर्न आप्रवासी नागरिकले निम्न मापदण्ड पूरा गर्नुपर्नेछ :
- वैधानिक आवासीय परमिट (आईडी) बोकेर कतारमा २० वर्ष भन्दा बढी बिताएको हुनुपर्नेछ। कतारमै जन्मेका आप्रबासीको हकमा भने १० वर्ष बढी बिताएको हुनुपर्नेछ। त्यस्तै निवेदन दिने समय अगावै निवेदकले तोकिएको वर्ष पूरा गरिसकेको हुनुपर्नेछ।
निवेदकले विगतमा हरेक वर्ष कतार बाहिर र निवेदन दिइसकेपछि ६ महिना भन्दा बढी बसेको खण्डमा भने सो समय जोडिने छैन।
- आफ्नो परिवार पाल्न निवेदकको पर्याप्त आयश्रोत हुनुपर्नेछ। निवेदकको न्युनतम आयस्रोत मन्त्रालयले पछि तोक्नेछ।
- निवेदकको व्यवहार राम्रो हुनुपर्ने र कुनै पनि आपराधिक क्रियाकलापमा सहभागी भएको हुन नहुने।
- निवेदकलाई अरबी भाषाको प्रयाप्त ज्ञान हुनुपर्ने।
- विदेशी सँग विवाह भएको कतारी महिला, उनको सन्तान, कतारी नागरिकको विदेशी श्रीमती,उनीहरूको सन्तान लगायत देशलाई आवश्यक अन्य उत्कृष्ट प्रतिभा भएकाहरूले माथिको १ र २ को प्रक्रिया पूरा गरी स्वत पीआर पाउनेछन्। त्यस्तै कतारी महिला सँग विवाह भएको विदेशी नागरिकलाई भने माथीको १,२ र ३ को प्रक्रिया लागू हुनेछ।

जारी नियम अनुसार निवेदनको छिनोफानो गरी प्रक्रिया पूरा गर्न आन्तरिक मन्त्रालय अन्तर्गत ‘स्थायी आवास परमिट’ नामको स्थायी समिति स्थापना भएको छ। समितिले आन्तरिक मन्त्रालय सँग समन्वय गरी कार्य गर्नेछ। मापदण्ड पूरा भएका विदेशी नागरिकलाई आन्तरिक मन्त्रालयले कतारको पीआर प्रदान गर्नेछ। साथै हरेक वर्ष एक सय भन्दा कमले मात्र पीआर पाउनेछन्।
तर २५ वर्ष सम्म पनि न्यूनतम पढाई पुरा नगरेका र तोकिएको वर्ष सम्म विवाह नभएका महिलाको भने पीआर रद्द हुने नियममा उल्लेख छ।