चितवनमा रवि लामिछानेको बयान आज पनि लिइँदै

चितवन, मंसिर १९-
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि आज पनि लिइँदै छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकील कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए ।
पहिलो दिन प्रारम्भिक प्रश्नमात्र गरिएको न्यायाधिवक्ता लुँइटेलले जानकारी बताए । ‘अहिले हामी प्रारम्भिक प्रश्नमा मात्र छौँ’, उनले भने ‘बुधवार गहिराइमा गएर बयान लिन्छौँ ।’ उनका अनुसार लामिछानेसंग लिखित बयान लिइएको छ । सरकारी वकील र अनुसन्धान अधिकृतले सयुंक्त बयान लिएका छन् । सकेसम्म आज बयान सक्ने तयारी भएको उनले बताए ।
सहकारी ठगी, सड्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट मंगलबार बिहान चितवन ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो । रविका समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।