दूतावासको पहलमा सात पीडित कामदारको उद्दार

नेपाली दूतावास कतारको पहलमा सात पीडित कामदारको सकुशल उद्दार भएको छ।स्विस इन्जिनेरिङ फर कन्ट्रयाक्टर कम्पनीमा कार्यरत जीत बहादुर बि.क, हरि कुमार थापा, श्याम केवट, गिरी राज पंगेनी, श्याम लाल राना, राम कृष्ण गुरुङ र कृष्ण बहादुर दर्जी नेपाली कामदारहरूलाई उक्त कम्पनीको मालिकले झुक्काई खाली कागजमा दस्तखत गर्न लगाएको र पछि त्यही खाली कागजमा ९ हजार कतारी रियाल बुझेका भनी भरपाई गराई त्यसैको आधारमा कतारको अदालतमा मुद्दा गरेको र अर्को तर्फ कम्पनी छोडेर भागेको भनि प्रहरी समक्ष उजुरी गरी उनीहरुको कतारबाट बाहिर जान यात्रा प्रतिबन्ध समेत गरेको अवस्था रहेको थियो।
नेपाली राजदूतावासको पहलमा कतार सरकारले त्यसरी मुद्दामा परेका सात जनालाई विशेष निर्णय गरी घर जान पाउने अनुमति जारी गरी दिएको आधारमा उल्लेखित व्यक्तिहरुलाई गत शुक्रबारको दिन उद्दार गरी सकुशल नेपाल फर्काइएको छ। साथै उक्त कम्पनीमा हाल कामदार पठाउन रोक्का गर्न र आवश्यक कारवाहीको लागि राजदूतावासबाट सम्वन्धित निकायमा पत्राचार गरिएको छ।