कतारको जेलमा रहेका बिनोद रानाभाटलाई छुटाउन झण्डै ८२ लाख रुपैयाँ संकलन

कतारको वक्रा जेलमा रहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन भएको छ ।
आज आज चितवनको माडीमा भएको समितिको बैठकमा विनोद रानाभाट उद्धार समितिका चितवनका संयोजक कृष्णबहादुर रानाभाटले विनोदलाई दुई लाख ६० हजार रियाल ब्लड मनी अर्थात् झण्डै ८२ लाख नेपाली रुपैयाँ तिरेर स्वदेश फर्काउनका लागि सबै लागिपरेको बताए । चितवन युवा समुह कतारका सल्लाहकार एवं बिनोद रानाभाट सहयोग अभियान कतारका संयोजक सागर नेपालले रानाभाटको रिहाइका लागि आवश्यक करिब दुई लाख रियाल लगभग जुलाई २१ तारिख नै संकलन भइसकेको र अब नयाँ कुनै पनि रकम संकलन गर्नुनपर्ने जानकारी दिनुभएको छ ।
सहयोग संकलनका लागि आजदेखि सहयोग नमाग्नसमेत समितिले आग्रह गरेको अभियानका नेपाल उपाध्यक्ष अर्जुन भुसालले जानकारी दिए । स्वदेश र प्रवासमा सञ्चालित सहयोग संकलन अभियान अन्त्य गर्न उपाध्यक्ष भुसालले आग्रह गरेका छन् । विनोद रानाभाटलाई एउटै कम्पनीमा कार्यरत भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारतीय कामदारको मृत्यु हुन पुगेको थियो ।
घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्दा चलाएकोमा मृतकको परिवारलाई ब्लड मनीका रुपमा दुई लाख ६० हजार कतारी रियल अर्थात करिब ८२ लाख नेपाली रुपैंयाँ बुझाउनुपर्ने आदेश भएको थियो ।