मोबाइल बाट ठगी गर्ने १६ जना पक्राउ

कतार प्रहरीले मोबाइल बाट ठगी गर्ने १६ जनालाई पक्राउ गरेको छ।म्यासेज तथा फोन कल मार्फत दुई लाख रियाल पुरस्कार परेको भन्दै पीडितको बैंक खाताको विवरण मागी ती अभियुक्तहरुले आफ्नो खातामा रकम जम्मा गर्दै आइरहेका थिए।ती सबै एसियन राष्ट्रका नागरिक रहेका छन्।उनीहरूलाई विद्युतीय ठगीको आरोपमा मुद्दा चलाइएको छ।
प्रहरीले ठूलो मात्रामा पैसाका साथै थुप्रै मोबाइल फोन समेत बरामद गरेको छ।उनीहरूलाई कतार राष्ट्र बैंक,अन्य साना बैंक र भोडाफोन र ओरेडो टेलिकमको समन्वयमा पक्राउ गरिएको आजको पेनिनसुला पत्रिकाले लेखेको छ।

“दुई लाख रियाल जितेको भन्दै फोन तथा म्यासेजमा सूचना दिने र बैंक खाता विवरण सोधी मोबाइल बैंकिङ सिस्टम प्रयोग गरी आफ्नो खातामा रकम जम्मा गर्ने सूचना पाएपछि हामीले विशेष निगरानी गर्दै आइरहेका थियौं।हाम्रो विशेष टोलीले उनीहरुलाई एउटै अपार्टमेन्ट बाट पक्राउ गर्न सफल भएका छौं र मुख्य गिरोहले अन्य देश बाटै कतारमा सो अपराध सञ्चालन गर्दै आइरहेको खुल्न आएको छ”,अपराध अनुसन्धान विभागका प्रमुख बिग्रेडिएर जमाल मोहम्मद अल काबीले बताएका छन्।
विभिन्न सूचना मार्फत इन्टरनेटको माध्यम बाट हुने यस्तो ठगी नियन्त्रण गर्न टेलिकम कम्पनीहरुको प्रयास भइरहेको छ।आधिकारिक बैंक वा संस्थाले इमेल मार्फत कहिले पनि बैंक खाताको विवरण माग्दैन।इन्टरनेटमा जथाभावी आएको लिंक खोली आफ्नो निजी विवरण नदिन विभागले सबैमा आग्रह गरेको छ।