युएईले नै साइबर आक्रमण गरेको हो : कतार

कतारको आन्तरिक मन्त्रालयले आफ्नो सरकारी मिडियाको साइबर आक्रमण संयुक्त अरब इमिरेट्स (युएई)बाट भएको आरोप लगाएको छ । बिहीबार साँझ दोहामा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले साइबार आक्रमणसम्बन्धी प्रमाण पेस गर्दै युएईलाई आरोप लगाएको हो ।
गत मे को अन्तिम साता कतारको सरकारी समाचार संस्था ‘कतार न्युज एजेन्सी’ आक्रमण गरी कतारी अमिरले हवाला दिँदै गलत समाचार प्रकाशन भएको थियो । जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी आइपुगेका थिए ।
मन्त्रालयका सूचना सुरक्षा विभागका सहायक निर्देशक ओथमान सलिम अल–हम्मोउदले ह्याकरहरु सफ्टवेर खडा गरी आक्रमण गर्न सफल भएको बताए । ‘अप्रिल २८ मा सफ्टवेरमार्फत कतार न्युज एजेन्सीको वेभसाइटमा नियन्त्रण कायम गर्न र सबै कर्मचारीहरुको इमेल आइडी पनि पत्ता लगाए,’ उनले भने, ‘मे २३ मा गलत समाचार प्रकाशन भयो ।’
वासिङटन पोस्टले पनि कतारको न्युज एजेन्सी युएईबाट भएको भन्दै केही दिन अगी मात्रै समाचार प्रकाशन गरेको थियो ।
उनले मे २४ रातिदेखि मे २५ बिहान ३ घण्टासम्म ह्याकरहरुको नियन्त्रणमा वेभसाइट रहेको बताए । ‘ह्याकरहरु निकै व्यवसायिक देखिए । यसको लागि राज्यले नै खर्च उपलब्ध गराएको छ,’ उनले भने ।
युएईका परराष्ट्रमन्त्री अन्वार गरगासले युएईबाट कतारको समाचार एजेन्सीमाथि आक्रमण नभएको बताउँदै आएका छन् ।
स्रोत : कान्तिपुर