नेपाल आइडलको फाइनल कतारमै किन ?

आउँदो सेप्टेम्बर २२ मा कतारको सनैया स्थित एसियन टाउन यमफि मा पहिलो नेपाल आइडलको फाइनल हुँदैछ।ओनिक्स वान इन्टरनेशनल र एभरेष्ट नेपाल युथ एशोसियसनको संयुक्त आयोजनामा कार्यक्रम हुने हिजो एक पत्रकार सम्मेलन बीच घोषणा भएको छ।
कार्यक्रममा टप १२ आइडल का प्रतिस्पर्धीहरू सँगै डान्स इन्डिया डान्स र झलक दिखल जा का विजेता तेरिया मगर,साईली गायक हेमन्त राना र हास्य कलाकार केदार घिमिरे(माग्ने बुढा) लगायतको बेजोड प्रस्तुती रहनेछ।कार्यक्रमको टिकट दर भने ३५,५०,७०,१००,२०० र भिआईपी गरेर तोकिएको छ।
यसैबिच हिजोको पत्रकार सम्मेलनमा उठेका मुख्य विषयवस्तु को प्रश्नोत्तरहरु यस्ता छन्।
नेपाल आइडल को फाइनल कतार मै किन?
सर्वप्रथम,पहिलो नेपाल आइडल सकेसम्म कसरी भब्य बनाउने कुरा हो । यही क्रममा यसलाई विदेशमा गर्ने होडबाजी हुँदै गर्दा कतारमा ल्याउन पाउँदा गौरवको विषय बनेको छ।यो भन्दा धेरै ठुला विदेशी कार्यक्रमहरु पनि विदेशमै भएका इतिहास हामी संग छ । त्यसैले नेपाली आइडलपनि कतारमै गर्दा सामान्य रुपमा लिनुपर्छ भन्ने हामीलाई लाग्दछ ।
कतारको अहिलेको वर्तमान परिस्थितिमा कार्यक्रम गर्दा उचित होला त ?
छिमेकी राष्ट्रहरुले कतारलाई लगाएको नाकाबन्दीले सुरुका दिनहरूमा अफ्ट्यारो त पक्कै भएको थियो।तर अहिले दैनिक जीवन सामान्य भइसकेको अवस्था छ र कार्यक्रम गर्दा त्यस्तो जटिल समस्या उत्पन्न हुनेछैन।अर्को कुरा यसरी कार्यक्रम गर्दा कतारको जीवन सामान्य नै छ भन्ने सन्देश सबैमा जाने हुँदा कतार नेपाल बीचको सम्बन्ध अझै गाढा हुनेमा हाम्रो आशा छ।
स्थानिय र विदेशी दर्शकहरुलाई टिकटको ब्यवस्था कसरी गर्दै हुनुहुन्छ?
कतारमा रहेका दर्शकहरुले विभिन्न स्थानहरूमा राखिने स्टल,हरेक नेपाली होटलहरू,हाम्रो टिमले गर्ने घरदैलो कार्यक्रम हरु मार्फत टिकट लिन सक्नुहुनेछ।यसका साथै विभिन्न सपिङ्ग मलहरु पनि उपलब्ध गराउन प्रक्रियाहरु हुँदैछन्।त्यस्तै विदेशी दर्शकहरुको लागि भने q-tickets.com बाट अनलाइन खरिद गर्न सकिनेछ।
कार्यक्रमका लागि नेपाल बाट कति संख्याको टिम आउँदैछ र व्यवस्थापन कस्तो हुनेछ?
नेपाल बाट लगभग ८५ जनाको टिम कार्यक्रमको लागि आउने भएको छ।यसको लागि भिषा तथा टिकटको प्रक्रिया अगाडि बढाइसकेको छौं।साथै होटल सँगको सम्झौता पनि भइसकेको छ।
इतिहासमा कलाकारहरु अलपत्र परेका कुराहरू बाहिर आएका थिए,यसलाई आयोजक पक्षले कसरी लिएको छ ?
विगतमा भएका कमीकमजोरी बाट सिक्दै हामीले यो पल्ट कुनै कसुर छोड्ने छैनौं।नेपाल देखि कतार सम्मको हवाई यात्रा सिधै हुनेछ भने बीचमा आगमन प्रक्रियामा केही समस्या भएमा नेपाली दूतावासले मिलाउने प्रतिबद्धता आइसकेको छ।
हरेक कार्यक्रममा समय अभाव हुने तीतो विगत संग कसरी लागि पर्दै हुनुहुन्छ ?
हामीले त्यसदिन हुने कार्यक्रमको लागि समय तोकिसकेको छौं।२०० वा सो भन्दा कम्ती दर्शकको उपस्थिति भएपनि कार्यक्रम भनेकै समयमा सुरु गर्ने ग्यारेन्टी दिन चाहन्छौं।
कतारबाट प्रतक्ष्य प्रशारण गर्न सम्भव होला त ?
हामीले प्रतक्ष्य प्रसारणको लागि कतारको सरकार सँगको अनुमति तथा गर्न पर्ने सबै कागजी प्रक्रिया पूरा गरिसकेको जानकारी दिन चाहन्छौं।अब बाँकी रह्यो प्राविधिक कुरा,त्यसको लागि नेपाल आइडल कै दक्ष प्रविधिज्ञहरु आउँदै हुनुहुन्छ।कार्यक्रममा १७ वटा क्यामरा र ड्रोनको पनि प्रयोग हुनेछ।यति कुरा भइसकेपछि प्रतक्ष्य प्रशारणको लागि कुनै समस्या आउँछ जस्तो लाग्दैन।
कतार कै टेलिकम हरु मार्फत पनि भोटिङको सुविधा होला ?
यसको लागि हाम्रो टेलिकमहरु संग कुरा भइरहेको छ, आशा गरौं हुन्छ भनेर।सम्भव भएको खण्डमा हामी हाम्रो सामाजिक पेजहरुमार्फत खबर गर्नेछौं।