साफ महिला च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र श्रीलंका आज भिड्दै

काठमाडौं, कात्तिक ८-

साफ महिला च्याम्पियनसिपको समूह ‘बी’को विजेता बन्न नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित निकालेको नेपालको श्रीलंकाविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्य छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा रहेको नेपाली टोलीले पहिलो खेलमा खराब प्रदर्शन गर्दै भुटानविरुद्ध गोलरहित बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपमा नेपालले कुनै पनि टोलीसँग बराबर खेलेको यो पहिलोपटक थियो ।

दोस्रो खेलमा रेखा पौडेल र प्रीति राईलले ह्याट्रिक गर्दा नेपालले माल्दिभ्सविरुद्ध ११ गोल गरेको हो । समूहमा भुटान र नेपालको समान ४ अंक छ । ८ गोलले अगाडि रहेको नेपाल शीर्ष स्थानमा छ । श्रीलंकालाई हराए नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुग्नेछ । यता, माल्दिभ्स र भुटानबिच दिनको पहिलो खेल हुनेछ । नेपाललाई हराए श्रीलंकाले पनि सेमिफाइनलको यात्रा गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४–१ को पराजित भएको थियो । श्रीलंका घरेलु टोली नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ ।

समूह ‘ए’बाट बंगलादेश र भारत अन्तिम चारमा प्रवेश गरेका छन् । दुई खेलबाट बंगलादेशको ४ तथा भारतको ३ अंक रह्यो । १ अंक रहेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।

अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सविरुद्ध पाँच खेलाडीलाई विश्राम दिएको थियो । फ्रान्सबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि दोस्रो खेलबाट टोलीमा उपलब्ध छिन् । तर, प्रशिक्षक तामाङ भने तेस्रो खेलमा कमजोर श्रीलंकाविरुद्ध पनि दोस्रो रोजाइका खेलाडीलाई मौका दिने योजनामा छन् । माल्दिभ्सविरुद्ध घाइते भएका हिराकुमारी भुजेल र दीपा शाहीसँगै पूजा राना, कप्तान अञ्जिला र रक्षक अमृता जैसीले खेलेका थिएनन् । रक्षक निशा थोकरसँगै, विमल विक र विमल चौधरीले अवसर पाए । श्रीलंकाविरुद्ध उनीहरूले नै निरन्तरता पाउन सक्छन् । अग्रपंक्तिमा प्रशिक्षक तामाङले रेखा, सविता रानामगर र रश्मिकुमारी घिसिङलाई नै सुरुवात गराउने योजनामा छन् । मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई र सरु लिम्बू हुनेछन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button