चार दाबेदार मध्य कसले जित्ला त विश्वकपको गोल्डेन ग्लोभ्स
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको थियो ।
जारी कतार विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका छन् । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् ।
अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे । उक्त उत्कृष्ट गोलकिपरको छनोट फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले गर्छन् ।
यी हुन् अहिलेसम्मका विजेता
१९९४ – मिचेल प्रिउड होम (बेल्जियम)
१९९८ – फाबियन बार्थेज (फ्रान्स)
२००२ – ओलिभर कहान (जर्मनी)
२००६ – जियानलुजी बफोन (इटली)
२०१० – इकर कालिलास (स्पेन)
२०१४ –मानुएल नोएर (जर्मनी)
२०१८ – थिबाउट कोर्तवा (बेल्जियम)