हतियार खरिद गर्नु आफ्नो सार्वभौम अधिकार : कतार

अल जजिरा
कतारले रूसी एस-४०० हवाई प्रतिरक्षा मेसिन खरिद गर्ने विषयमा साउदी अरेबियाले आपत्ति जनाएपछि सो निर्णय देशको सार्वभौम अधिकार रहेको कतारले बताएको छ।
अल जजिरा सँगको अन्तर्वार्तामा विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले साउदी राजाले फ्रान्सेली राष्ट्रपतिलाई गरेको आग्रह अन्तर्राष्ट्रिय नियम विपरीत भएको प्रतिक्रिया दिएका छन्।उनले साउदी अरेबियाले सैन्य कारबाही गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्।
के भएको थियो ?
कतार र रुस बीच भएको सैन्य सामग्री सम्झौता अनुसार कतारले एस-४०० नामक हवाई रक्षा प्रणाली खरिद गर्दैछ,जसप्रति साउदी अरेबियाले आपत्ति जनाएको छ। रिपोर्ट अनुसार साउदी अरेबियाका राजा सलमानले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई रुस र कतारबीच भएको उक्त सम्झौता रद्द गराउनका लागि दबाब दिन आग्रह गरेका छन्।
साउदी राजा सलमानले यस विषयमा गहिरो चिन्ता व्यक्त गर्दै कतार र रुसबीचको सम्झौता रोक्नका निम्ति दबाब दिन माक्रोँलाई आग्रह गरेको फ्रान्सेली पत्रिका ली मोन्दले पनि लेखेको छ।कतारले हतियार खरिद गरे सैनिक परिचालन समेत गर्ने समाचारमा उल्लेख छ।तर यता कतारले एउटा पत्रको भरमा पछि नहट्ने बताएको छ।