हमाद अस्पतालमा क्यान्सरको उपचार निशुल्क हुने

हमाद अस्पतालले स्थानिय तथा सम्पूर्ण बासिन्दाको लागि क्यान्सरको उपचार निशुल्क गर्ने आजको पत्रपत्रिकामा समाचार छ।दैनिक अरबिक पत्रिका अल अरब मा दिएको अन्तर्वार्तामा अस्पतालको राष्ट्रिय क्यान्सर स्याहार तथा रिसर्च केन्द्रका प्रमुख डा ओसामा अल होम्सीले सम्पूर्ण बासिन्दाको लागि उपचार निशुल्क गरिएको बताएका छन्।

पहिले उपचारको ८० प्रतिशत सरकारले र २० प्रतिशत खर्च बिरामीले बेहोर्नुपर्ने व्यवस्था थियो।अब बाँकी २० प्रतिशत उपचार खर्च पनि सरकारले व्यहोर्ने डा अल होम्सीले अन्तर्वार्तामा बताएका छन्।
‘क्यान्सरको औषधि निकै महंगो हुने हुँदा बिरामीलाई २० प्रतिशत उपचार खर्च पनि धेरै हुन जान्छ।कतार सरकारले गरेको शतप्रतिशत निशुल्कको निर्णयले हामी खुसी भएका छौ।यता रोग बारे हामीले राम्रो परिणामको लागि धेरै अनुसन्धान पनि गरिरहेका छौ।भविष्यमा बिरामीको स्वास्थ्यको लागि हामी कुनैपनि आवश्यक औषधि भित्राउन तयार छौ’, डा होम्सीले बताए।

अस्पतालको वन्कोलोजी विभागको तथ्याङ्क अनुसार क्यान्सरको उपचार गर्न विदेश जाने बिरामीको संख्या केही वर्ष यतादेखि घट्दै आइरहेको छ।त्यस्तै प्राय बिरामीहरू कतारमै उपचार गर्न इच्छुक रहेका छन्।