बिज्ञापन

कतारमा इफ्तार कार्यक्रमको इतिहास

रमजान महिनाको रोजा (उपवास) मानवजातिको आत्माशुद्धि र प्रशिक्षण अवधि हो। अरबी पात्रो अनुसार हिज्री सम्वत सन् २ हिज्रीदेखि अनिवार्य भएको रमजानको रोजाको आज छैठौं दिन हो। बिगतका दिनहरु भन्दा यस पटक कतारमा रोजा केही जाडो याममा परेको हुनाले रोजाको ताप र कष्टमा केही कमि महसुस भएको आभास हुन्छ । यद्यपि यो ब्यक्ति ब्यक्तिमा भरपर्ने विषय पनि हो । आगामी वर्ष अझैं यसमा सहजता हुने भनी खगोलका बिज्ञहरुले बताउँदै आएका छन। रमजानमा यहाँ कतारमा न्युनतम कार्य अवधि पनि घटाएर आठ घण्टा बाट ६ घण्टामा झारिएको हुन्छ। ताकी रोजा बसेकाहरुलाई सहज र आराम होस । बाहिरी खुल्ला क्षेत्रमा काम गर्नेहरुलाई पनि त्यस्ता कम्पनीहरुले रात्रीकालिन समयमा काममा लगाउने गर्दछ। कतारको नेपाली समाजमा दुई दशक अगाडि बाट विभिन्न सामाजिक एवं बैचारिक संघ संस्थाले रमजानको गरिमाको उच्च कदर गर्दै र विशेषत:नेपाली मुस्लिम एवं आम नेपाली दाजुभाइ दिदीबहिनीको सम्मानमा इफ्तार कार्यक्रमहरुको आयोजना गर्ने इतिहास रहिआएको छ । जसमा सबै पक्षका ब्यक्तित्वहरुको उत्साह जनक उपस्थिति रहन्छ। जसमा तत्कालीन प्रवासी नेपाली मन्च,नेपाली लोकतान्त्रिक मन्चले अग्रसरता लिएको ब्यक्तिगत रुपमा मैले पाएको छ।

तथापि कतारमा रहेका सामाजिक ब्यक्तित्वहरुले आफ्नो निवासमै भएपनी नेपाली मुसलमान दाजुभाइ लाई इफ्तार खुवाउने केही उदहारणिय कार्य पनि इतिहासको पानामा दर्ज छन पछि विभिन्न संघ संस्थाले यस कार्यलाई अनुसरण गर्दै इफ्तार कार्यक्रमको आयोजना गर्ने चलन नै चल्यो। जो आफैमा एउटा महत्त्वपूर्ण एवं उदहारणिय कार्यको रुपमा रहेको छ। यसले हामी बिचको भातृत्व र आपसी सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्दछ। प्रवासी भूमिमा यसप्रकारको आपसी सद्भावले राज्यलाई समेत केही सन्देश दिएको प्रष्ट हुन्छ।हुन त नेपालमा रहेको धार्मिक सहिष्णुणता बिश्वमै उदहारणिय रहेको छ।

यसैगरी कतार सरकारको पहलमा पहिलो पटक सन् २००८ मा राफ भन्ने परोपकारी संस्थाले आम नेपाली जनसमुदायलाई बृहत इफ्तार कार्यक्रममा सहभागिताको निमन्त्रणा दिएको थियोे। कतारको राजधानी दोहा स्थित कतार स्पोर्ट्स क्लबको इन्टिरिएर हलमा आयोजित सो कार्यक्रमको संयोजक मलाई तोकिएको थियो। यद्यपि त्योबेला कतारमा सामाजिक क्षेत्रमा लागेका हरेक ब्यक्तिको ठूलो सहयोग रहेको कुरा बिर्सन सकिन्न। त्यस कालखण्डमा प्राय यहाँका सबै सामाजिक संघ संस्था बिच अत्यन्तै हार्दिक एवं पारस्परिक सम्बन्ध मजबुत रुपमा कायम थियो। सबैको हातेमालोमा त्यो राज्य स्तरको पहिलो इफ्तार कार्यक्रम भब्य रुपले सम्पन्न भएको थियोे।तथापि आफ्नो हातमा डाडु पन्यु नआउने र आफ्नो स्वार्थ पूरा नहुने देखे पछि त्यतिबेला पनि हामी मुस्लिम समाज भित्रकै केही अराजक तत्वले त्यस अवसरलाई भाँड्ने प्रयास नगरेको होइन। कार्यक्रम बारे विभिन्न टिकाटिप्पणि नभएको होइन । तथापि सरकारको संयोजन र राफ जस्तो परोपकारी संस्थाको सहयोगमा त्यो कार्यक्रम भैरहेको हुनाले अवसरको रुपमा हामीले ग्रहण गर्यौं र कार्यक्रम सफल पनि भयो।

यसको सम्पुर्ण जिम्मेवारी कतारको गृहमन्त्रालय स्थितको जनसम्पर्क बिभागले लिएको थियो । यो तत्कालीन नेपाली मुस्लिम समाज कतारको ब्यानरमा भएको थियोे जसका अध्यक्ष एनआरएनए कतारका निवर्तमान अध्यक्ष मक्सुद आलम थिए।

पहिलो कार्यक्रम सफल भए पछि कतारमा राफको अस्तित्व रहेसम्म हरेक वर्ष त्यस प्रकारको इफ्तार कार्यक्रमले निरंतरता पाएको इतिहास साक्षी छ। यो बृहत कार्यक्रम प्राय दोहा स्थित ठुला स्पोर्ट्स क्लबहरुमा हुने गर्दथे । तर कतार माथिको नाकाबन्दी पश्चात यस्ता क्यौं सामाजिक तथा परोपकारी संघ संस्थाहरु बन्द हुन पुगे र हाम्रो निम्ति आयोजना हुने कार्यक्रम पनि स्थगित भए। यद्यपि कतारको नेपाली समाजले विरासतको रुपमा रमजानको महिनामा आयोजना हुने इफ्तार कार्यक्रमलाई निरंतरता दिइनैरहे ।

कतारमा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघले निरन्तर रुपमा हरेक वर्ष इफ्तार कार्यक्रम गर्दै आएको छ। जसमा सबै सामाजिक बैचारिक प्रदेशिक संघ संस्थाको उल्लेख्य रुपमा सहभागी हुने गरेको छ । यसमा कतार सरकारको गृह मन्त्रालयका अधिकारी र विभिन्न निकायका प्रतिनिधिहरुको समेत उपस्थिति हुने तथा जनचेतनमुलक सामाग्री प्रस्तुत गर्ने पनि गरिन्छ ।

 

हिजो मात्रै कतारमा यस वर्षको पहिलो इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

कतारमा स्थापित एवं नेपाली राजदूतावासमा सूचीकृत मधेस प्रदेस समन्वय परिषदले पहलकदमी लिंदै भब्य सभ्य उपस्थितिमा यस वर्षको पहिलो इफ्तार कार्यक्रम आयोजना गर्न सफल भएको छ।यस अवसरमा मधेस प्रदेश समन्वय परिषदका अध्यक्ष आदरणीय मित्र मोहम्मद नियाज शैख र उनको समग्र कार्य समिति धन्यवादको पात्र बनेको छ। कतारको लागि नेपाली महामहिम राजदूत डा.नरेश बिक्रम ढकाल ज्युको प्रमुख आतिथ्यताले यस कार्यक्रमको शोभा बढाइदिएको थियोे । कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत कतार बाहिर बाट आएका आगन्तुक पाहुनाहरुको पनि उपस्थितिले कार्यकमलाई थप आकर्षक बनाएको थियो।

 

वास्तवमा रमजान महिना एउटा पर्व मात्र नभई यो महिना र यसमा राखेने उपवास मानव जीवनको निम्ति प्रशिक्षणको महिना पनि हो। जसमा मानिसले आफ्नो आत्मसमिक्षा गर्दछ।

पवित्र महिना रमजानको अनिवार्य रोजा आत्माशुद्धिकरणको लागि उत्कृष्ट तालिम हो । सृष्टिकर्ता अल्लाह तआलाको भय, प्रेम, र आशा मनमा लिएर आस्थावान आफुलाई हरेक प्रकारको पाप र दुष्कर्मबाट टाढा राख्ने प्रयत्न गर्छ र आफ्नो व्यवहार, आचरण र कृयाकलापलाई पवित्र बनाउने प्रयास गर्छ । आफुले जान अन्जानमा गरेका पापबाट क्षमायाचना गर्दै ती पाप कर्मबाट पवित्र राख्न मृत्युपछिको जीवनमा नर्कको आगोबाट बचाउन आफ्ना पालनहार संरक्षक र मालिक अल्लाह तआलासँग प्रार्थना गर्छ । ठिक समयमा नमाज पढ्ने, अल्लाहको सन्देश कुरआन पढ्ने, र त्यसको अर्थ बुझेर त्यसलाई आफ्नो व्यवहारमा उतार्ने प्रयत्न आस्थावानले विशेष गरी रमजानमा नै बढी गर्ने गर्छ ।

रोजाको अवस्थामा ऊ अल्लाहको प्यारो भक्त तथा अन्तिम सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को अनुशरण गर्दै आफुलाई पनि उनै अल्लाहको प्यारो उपासक र कृपापात्र तथा मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को असल अनुयायी बनाउने प्रयास गर्दछ । यसले गर्दा आचरणमा पवित्रता, व्यवहारमा शुद्धता र निष्पक्षता देखापर्छ । जब आस्थावान आफ्नो हृदयमा तक्वालाई बलियो बनाएर राख्छ तब उसलाई गलत बाटो लगाउन र दुराचारयुक्त बनाउन दुष्टको कुनै तागत चल्दैन । रोजा भित्र भोको पेट रहनु र अरु समयका केही वैध कार्यलाई अवैध गर्नु मात्र होइन नराम्रा र पापपूर्ण कार्यहरु गर्न, भन्न, सुन्न र हेर्नबाट रोक्छ । जस्तैः हातले गलत काम गर्न आफुलाई रोक्ने, मुखले गलत शब्द भन्नबाट आफुलाई रोक्ने, कानबाट नराम्रो कुरा सुन्नबाट आफुलाई रोक्ने र आँखाले नराम्रो चीज हेर्नबाट आफुलाई रोकेर रोजा राखेको हुन्छ ।

त्यसैले रोजाको एक महिने यस तालिमले मानिसको आत्माशुद्धिकरण गर्छ। रोजाले मानिसलाई त्याग, समर्पण, धैर्यता, क्षमायाचना र आत्मानियन्त्रण, सहनसिलता र ईशभय जस्ता गुणहरुको वृद्धि र विकास गर्छ । यसले मानिसलाई उदार, हृदयी बनाउनको साथै आफुबाट भए गरेका पाप र दुष्कर्मप्रति लज्जित हुने र त्यसको प्रायश्चित गर्ने क्षमताको विकास गराउँछ । रोजा मानवताको तालिम पनि हो। विश्वभरका मानिसहरु जो आफुलाई एक मानव आदम (अलैहिस्सलाम) का सन्तान र एक अल्लाहका उपासक मान्दछन्, उनीहरु सबै एकै साथ रोजा राख्छन् । यसले एकात्मकतालाई मात्र होइन सामुहिकतालाई महत्व दिन्छ। एउटै नियम अनुसार रोजामा रहने, अनिवार्य उपासना गर्ने, सामुहिक रुपमा इफ्तार गर्ने (रोजा खोल्ने) कार्य गर्दछन् ।

त्यस्तैः दान, सहयोग जस्ता पुण्य कर्महरु गर्न मानिस बढी ध्यान दिन्छन् । गरिब र भोकको अनुभुति रोजाले गराउने भएकाले रोजेदार ती गरिब, भोका र असाहायहरुलाई खाना, कपडा आदी दिएर सहयोग गर्छ । रोजाको महिनामा सबै प्रकारका लडाई, झगडा, वैमनश्यतालाई अवैध ठहराइएको छ । यसले गर्दा रोजेदारहरु मेलमिलाप, पारस्पारिक सहयोग आदन-प्रदान गर्छन् । यसले गर्दा उसको हृदय भित्र भातृत्व, विश्ववन्धुत्व र मानवताको भावनाले वास गर्छ । रमजान महिनामा धनी होस् या गरिब, महिला होस् या पुरुष, अरबी होस् या नेपाली यदि ऊ एक अल्लाहप्रति आस्थावान छ भने हृदयमा एउटै कैफियत लिएर रहेको हुन्छ, त्यो हो तक्वा (अल्लाहसँगको प्रेम, उनको भय र उनीबाट आशा) । यसैलाई मजबुत बनाउन हर सम्भव ऊ प्रयासरत हुन्छ । प्रत्येक धनी व्यक्ति आफ्नो धनमा भएको गरिबको हिस्सा मात्र होइन अझ अघि बढेर गरिबलाई सहयोग गरिरहेको हुन्छ ।

जसरी अल्लाहका अन्तिम सन्देष्टा मुहम्मद (स.) रमजानमा दान पुण्यमा तेज हावाको गति समान हुनुहुन्थ्यो त्यसरी नै उहाँका अनुयायी पनि दीनदुखी र असाहयहरुको सहायतामा आफ्ना हात अघि बढाई रहेका हुन्छन् । एक महिने यस प्रशिक्षणले आस्थावानहरुका व्यावहार र आचरणमा आमूल परिवर्तन गर्न सक्छ र वर्षका बाँकी ११ महिना पनि त्यस्तै सदाचारी भएर रहने प्रेरणा मिल्छ । त्यसैले देश भित्र र अन्तराष्ट्रिय जगतमा मेल मिलापको वातावरण बनाउन रमजानको रोजाले सिकाएको पाठको पालन हुनुपर्दछ।

यदि रोजाले दिने शिक्षालाई विश्वभर फैल्याउन र मानवतावादी तालिमलाई व्यवहारिक जीवनमा उतार्न सके विश्वमा अवश्य नै दुष्ट्याई, पापकर्म, अन्याय, अत्याचार, असमानता र विभेदको अवस्थाको अन्त्य भई शान्ति र अमन चयन स्थापना हुने थियो, अल्लाह तआलाले हामी सबैलाई यसमा सफल बनाउन् । आमीन् !

लेख: मोहम्मद रमजान अली मियाँ हाल राष्ट्रिय मानवअधिकार आयोग कतार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button