बिज्ञापन

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सम्झौता

सिन्धुपाल्चोक, जेठ ३-

हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अवलम्बन गरेको बताइएको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि र उत्तीर्ण दरमा बढोत्तरी गर्दै शिक्षाको गुणस्तरमा अभिवृद्धि र विद्यालयबाट प्रदान गरिने सेवालाई सुशासनमैत्री र नतिजामुखी बनाउनका लागि गाउँपालिकाको शिक्षा विकास तथा समन्वय एकाइ, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घको नियमित सुपरीवेक्षणमा रही चालु शैक्षिकसत्र २०८१ मा सम्पादनका लागि नयाँ शर्त राखिएको छ ।

सम्झौतामा भनिएको छ, “देहायका उल्लेखित कार्य सम्पादन गर्दछु भनी यस गाउँपालिकाका शिक्षा अधिकृत धनध्वज लामासमक्ष यो कार्य सम्पादन करार सम्झौता गरेको छु ।” कार्य शर्तहरुमा चालु शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ३ को विद्यार्थी सिकाइ उपलब्धि दर शतप्रतिशत कक्षा ४ देखि १० को विद्यार्थी सिकाइ उपलब्धि न्यूनतम १० प्रतिशतले वृद्धि गर्ने साथै सबै तह र कक्षाको विद्यार्थी उत्तीर्ण प्रतिशत शतप्रतिशत गर्ने उल्ल्ेख गरिएको छ ।

तोकिएको समयवधिभित्रै विद्यालय सुधार योजना अध्यावधिक र कार्यान्वयन, सामाजिक परीक्षण, लेखापरीक्षण अध्यावधिक, दिवा खाजाको प्रभावकारी व्यवस्थापन, विविध निकायबाट विद्यालयमा प्राप्त भएका बजेट तथा कार्यक्रमको समयमै कार्यान्वयन गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने कागजात तथा प्रतिवेदन समयमा पेस गर्ने उल्लेख छ ।

विद्यालयले शिक्षक विद्यार्थीको आचारसंहिता निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गरेर पाठ्यक्रमले तोकिएबमोजिम सम्पूर्ण क्रियाकलापको पूर्ण कार्यान्वयन गरी शैक्षिक योजना, डायरी, विद्यार्थी ‘होमवर्क’लगायत प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

पालिकामा कार्यरत प्रधानाध्यापकले शिक्षा नियमावली, २०५९ को नियम ९४ मा उल्लेखित कार्य गरी माथिल्लो निकायबाट निर्दिष्ट भएका निर्देशन, परिपत्रको कार्यान्वयन र प्रतिवेदन गर्नुपर्ने उल्लेख छ ।

साथै प्रधानाध्यापकले माथि उल्लेखित कार्य शर्त पूरा गर्नका लागि विद्यालयको योजना, रणनीति तयार गरी यस सम्झौता तथा शिक्षा नियमावली २०५९ को नियम १३३ बमोजिम सबै शिक्षकसँग अनिवार्य करार सम्झौता गर्नुपर्नेछ । तोकिएका शर्तहरुको कार्यान्वनको विश्लेषण गर्दै गाउँ शिक्षा समितिले निर्णय गरी आवश्यक पृष्ठपोषण प्रदान, परस्कृत र कारबाही गर्न सकिनेछ ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र सामाजिक विकास संयोजक छिरिङ लामा ह्योल्मोको रोहबरमा गरिएको हस्ताक्षर गाउँपालिकाका तर्फबाट शिक्षा अधिकृत लामाले गर्नुभएको थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापकले हस्ताक्षर गर्नुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button