बिज्ञापन

भरतपुरको छ लेन सडक निर्माणको ८५ प्रतिशत काम सम्पन्न

चितवन,जेठ २-

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उहाँले जानकारी दिनुभयो । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ । बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो । उहाँले भन्नुभयो “अब बजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुप¥यो ।”

विसं। २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले गरिरहेको छ । कम्पनीले रु एक अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ । चालु आवमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । सुरुको ठेक्का रकम रु एक अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड आवश्यक पर्छ । यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताउनुभयो । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन ।

प्रमुख दाहालले भन्नुभयो “बजेटका कारण काम हुन नसकेपछि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटक-पटक अनुरोध गरेपछि काम भएको हो ।” रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button