बिज्ञापन

रजत स्मारिका–२०८१ माथि विमर्श, फरक शैली र विषयको संयोजन

रमाकान्त सापकोटा-

भरतपुर महानगनरपालिका–१० वीरेन्द्र क्याम्पसरोडको दिपेन्द्र चोकमा अवस्थित ‘वीरेन्द्र क्याम्पसरोड नमूना टोल विकास संस्था तथा श्री ऋद्धि–सिद्धि गणेश मन्दिर’ नामको सामाजिक सांस्कृतिक संस्थाले आफ्नो टोल विकास संस्था स्थापना भएको २५ औँ वर्षरजत वर्ष मनाइरहेको अवसरमा संस्थाको पहिलो प्रकाशनको रुपमा रजत स्मारिका–२०८१ अङ्क–१ प्रकाशन गरेको छ । नव वर्षको शुभारम्भको समेत अवसर पारेर वैशाख २०८१ मा प्रकाशित भएको र वैशाख २२ गते लोकार्पण भएको सो स्मारिका आवरणसहित २०० पृष्ठको छ । जसमध्ये २० पृष्ठ रंगिन छन् । रंगिन ६ र सादा २३ गरी जम्मा २९ पृष्ठ भित्र ३८ वटा नव वर्षको शुभकामना विज्ञापन समावेश छन् ।

विशिष्ट व्यक्तिका तीनवटा शुभकामना, संस्थाका अध्यक्ष शेषराज सापकोटाबाट लेखिएको प्रकाशकीय, प्रधान सम्पादक लकाश पौडेलबाट लेखिएको सम्पादकीय र विषय सूची समेत गरी ८ पृष्ठ अग्र भागमा समावेश छन् । भरतपुर महानगरका प्रमुख रेनु दाहालबाट शुभकामना दिने क्रममा समन्वय र सहभागिताबाट जमिन खरिद, बहु उद्देशीय भवन निर्माण, धर्म संस्कृतिको रक्षार्थ महायज्ञ भएको प्रति गौरवको अनुभूति प्रकट गर्नुभएको छ । वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलको शुभकामना सन्देशमा उल्लेख छ कि हाम्रो टोल हामी बनाउँछौं भनेर लाग्दा राम्रो बन्दो रहेछ भन्ने उदाहरण यस टोलले देखाएको छ साथै स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट २० लाख रुपैयाँको बजेट विनियोजन गर्ने अवसर पाएकोमा पोखरेलले खुसी व्यक्त गर्नुभएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले बहुउद्देश्यीय भवन निर्माण, ज्ञान महायज्ञको आयोजना, गणेश मन्दिर स्थापना, रजत स्मारिका प्रकाशन समेतका राम्रा कामको चर्चा गर्दै शुभकामना व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष शेषराज सापकोटाबाट लेखिएको प्रकाशकीयमा २०५६ सालमा प्रस्तावित र २०५७ सालमा लक्ष्मीकान्त शर्मा (लकाश) पौडेलको अध्यक्षतामा बनेको टोल विकास संस्थाको प्रथम कार्यसमिति देखिका मुख्य –मुख्य काम र महत्वपूर्ण उपलब्धिहरूलाई संस्थागत गर्दै इतिहास जीवन्त राख्न रजत स्मारिका आवश्यक महसुस भएको चर्चा छ । प्रधान सम्पादक लकाश पौडेलबाट लेखिएको सम्पादकीयमा टोल विकास संस्थाको भूमिका बारेमा चर्चा गर्ने क्रममा टोललाई बन्द हड्ताल निषेधित क्षेत्र तोक्ने, अर्गानिक कृषि उत्पादनमा जोड दिने, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रममा वडालाई सघाउने, आफ्नो टोल र सार्वजनिक स्थल दुर्गन्धमुक्त गर्न पहल गर्न सकिने उल्लेख गर्दै विगत देखि वर्तमान कार्यसमिति, शुभकामना दिने विशिष्ट व्यक्ति, लेखक गण, विज्ञापन दाता, प्रकाशक तथा सम्पादक मण्डललगायत सबैलाई धन्यवाद र नववर्षको शुभकामना व्यक्त गरेका छन् ।

टोल विकास संस्थाको जग्गा खरिदमा पाँच हजार रुपैयाँ भन्दा बढी चन्दा दिने १४७ जना, बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि नगद सहयोग गर्ने १२ जना , निर्माण सामग्री सौजन्य गर्ने १२ जना , कार्यालय सञ्चालन गर्न जिन्सी सहयोग गर्ने ११ जना, गणेश पुराण २०७८ मा २१ ह्जार भन्दा माथि अक्षयकोष दाताहरू ११ जना र श्री ऋद्धि–सिद्धि गणेश मन्दिरको लागि जग्गा प्राप्ति तथा निर्माणमा सहयोग गरी सम्मानार्थ सदस्यता (२जना ), विशिष्ट आजिवन सदस्यता (२ जना ), संस्थापक सदस्यता (२७ जना )समेतको विवरण ७० वटा पृष्टमा समेटिएको छ । सचिवालयको तर्फबाट संस्थाका सचिव रणबहादुर खत्रीद्वारा दुईवटा प्रतिवेदन प्रस्तुत छन् । टोल संस्थाको प्रगति विवरण एक झलक शीर्षकको प्रतिवेदनमा संस्थाको नाममा ३२ लाख रुपैयाँको लागतमा ४.७५ धुर जग्गा किनेको ,४९ लाखमा तीन तलाको बहुउद्देशीय भवन बनेको , ४९ लाख मध्ये २७ लाख सरकारी स्रोतबाट उपलव्ध हुन सकेको लगायत टोलमा सुन्दर र सरसफाइ एवम कोभिडको बेलामा राहतकोष संकलन र वितरण जस्ता उल्लेख्य काम भएको उल्लेख छ । गणेश पुराण ज्ञान महायज्ञको प्रतिवेदनमा २१ लाख ४३ हजार ५९४ आमदानी भएको र ६ लाख ८३ हजार २४३ खर्च भइ बचत १४ लाख ६० हजार ३५१ मध्ये १० लाख रुपयाँ अक्षयकोषको रुपमा रहने गरी मुद्दती खातामा राखिएको उल्लेख छ लगातार चार कार्यकाल कोषाध्यक्ष रहेका भवानीप्रसाद श्रेष्ठ द्वारा प्रस्तुतआर्थिक प्रतिवेदनमा सचिवको प्रतिवेदनमा उल्लेख भएका रकम र स्रोतको पुष्टि हुने विवरण तथा बैँक खाताको विवरण संक्षेपमा प्रस्तुत भएको छ । सचिवालयको अभिलेखको आधारमा स्थापना कालदेखि हालसम्मका कार्यसमितिको विवरण, वीरेन्द्र क्याम्पसरोड नमूना टोल विकास संस्थाको विधान, संस्थासँग सम्बन्धित प्रमाणपत्रहरू, टोलबासीलगायतको महत्वपूर्ण टेलिफोलगायतका सामग्री रजत स्मारिका–२०८१ का ४१ पृष्ठहरूमा समेटिएका छन् ।

विषय सूचीमा रहेका २९ वटा विषय मध्ये सातवटा विषय सम्बन्धित क्षेत्रका विज्ञ, अध्येताबाट लेखिएका छन् । रमाकान्त सापकोटाद्वारा लेखिएको टोल विकास सम्बन्धित आधारभूत शिक्षा शीर्षकको पहिलो आलेखमा टोल विकास संस्थाको सैद्धान्तिक एवम् वैधानिक आधार, वर्तमान परिवेश, टोल विकास संस्थाका उद्देश्यहरू, टोल विकास संस्थाका कार्यहरू, मानवीय प्रवृत्ति र व्यवस्थापकीय चुनौती, स्वस्थ र शान्त जीवनका आधारभूत शर्त जस्ता उपशीर्षकमा चर्चा गर्दै गुणस्तरीय जीवन मार्फत् सुखी र खुसी जीवनको लागि आवश्यकताका एजेन्डा उठान हुने आधारभूत थलो टोल विकास संस्था हुन सक्ने निष्कर्ष निकालिएको छ ।

हाम्रा रीतिरिवाज र षोडश संस्कारमा वैज्ञानिकता शीर्षकमा साहित्यकार लकाश पौडेलद्वारा लेखिएको आलेखमा अनादिकालबाट चल्दै आएका गर्भादानदेखि अन्त्येष्टि संस्कार सम्मका १६ संस्कारको चर्चा भएको छ । संस्कारको परिचय र महत्व, वैज्ञानिक अवधारणा, सांस्कृतिक परम्परामा षोडश संस्कार, षोडश संस्कारमा नकारात्मक धारणा तथा वैज्ञानिकता जस्ता उपशीर्षकमा चर्चा गरिएको आलेखमा १२५ जाति र बोलिने १२३ भाषा तथा संस्कारको विविधता भित्र वैज्ञानिक पक्ष पनि प्रतिबिम्बित छ भन्ने निस्कर्ष निकालिएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव भरतमणि पाण्डेको आलेखमा नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औं र बहुप्रकोपीय जोखिमबाट अति प्रभावित हुने २० वटा राष्ट्र भित्र पर्ने कुरा लेखको पृष्ठभूमिमा उल्लेख छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था, भूकम्प, आगलागी जस्ता विपद्मा समुदायको भूमिका लगायतका विषयमा चर्चा गरिएको आलेखमा साइरन जस्ता पूर्वचेतावनी प्रणाली, नियन्त्रण र व्यवस्थापनसँग सम्बन्धित सामग्री तथा तालिम जस्ता कुरा राज्यका निकाय र समुदाय मिलेर गर्न सकिने निष्कर्ष निकालिएको छ ।

टोल विकास संस्थाका अध्यक्ष शेषराज सापकोटाद्वारा संकलित मननयोग्य २५ प्रश्न शीर्षकमा शास्त्रीय एवम् परम्परागत मूल्य मान्यतामा आधारित २५ प्रश्नहरूको संगालो छ र ती प्रश्नको उत्तर पनि अर्को खण्डमा समावेश छन् । यी प्रश्न हाजिर जवाफ तथा गाउँ खाने कथामा सोधिने शैलीका रोचक प्रश्न र उत्तर छन् ।

पानी र सरसफाइ शीर्षकमा इञ्जिनियर ज्ञानप्रसाद पौडेलको लेख छ । पानीको मौलिक बनावटमा दुई भाग हाइड्रोजन तथा एक भाग अक्सिजन मिलेको हुन्छ र वैज्ञानिक नाम दिइएको छ तर यसमा जैविक, रासायनिक र भौतिक तत्वहरू समेत मिलेर एचटुओ प्लस एक्स बन्छ जहाँ एक्स ले रंग, स्वाद र शुद्धता प्रभावित गर्दछ भन्ने कुराको ज्ञान , ज्ञानप्रसाद पौडेल द्वारा सम्प्रेषित छ । उमाल्ने, फिल्टर गर्ने, क्लोरिन झोल राख्ने,प्लास्टिक बोत्तलमा पानी भरेर पारिलो घाममा सात घण्टा राख्ने जस्ता प्रक्रियाबाट पानी शुद्ध पार्न सकिने कुरा यो लेखमा चर्चा भएको छ । व्यक्तिगत सरसफाइ, घरायसी सरसफाइ र सार्वजनिक स्थलको वातावरणीय सरसफाइको सवालमा यो लेख निकै सरल र महत्वपूर्ण छ ।

‘आयुर्वेद चिकित्सा पद्धति ः एक झलक’ शीर्षकमा सुपरिचित डा.टीकानिधि ढकालको लेख समावेश छ । शास्त्र ,ज्ञान र कर्माभ्यास बढायो भने मात्र चिकित्सक परिपक्क हुन्छ । शरीर , मन र इन्द्रियहरूको संयोगबाट आयु आरम्भ हुन्छ र आयुको संरक्षण गर्ने साधना शास्त्र आयुर्वेद हो । बायु , पित्त , कफ प्रकृतिको आधारमा रोग परीक्षण गरिन्छ । पृथ्वी ,जल ,तेज, वायु र आकास गरी पञ्च महाभूत तथा रस, रक्त, मांश ,मेद्, अस्थि.मज्जा र शुक्र गरी सात धातु एवम जडीबुटी (जरा र बोट ) को सन्तुलित प्रयोग गरी उपचार गर्ने पद्धतिको रुपमा आयुर्वेदको चर्चा गरिएको छ । डा. ढकालको लेखमा विभिन्न रोगको पहिचान गर्ने विधि तथा औषध द्रव्य र पथ्य आहारको समेत संक्षिप्त चर्चा भएको छ ।

अंग्रेजी विषयका प्राध्यापक हेमराज शर्माद्वारा लेखिएको सामाजिक विकासबारेको एक मात्र अंग्रेजी निबन्धले यो स्मारिकामा भाषिक विविधताको सम्मान गरेको छ । अंग्रेजी मात्रै लेख्न र बुझ्न अभ्यस्त नया पुस्ताको ध्यान यो शिर्षकले तान्ने छ । टोल विकास संस्था सञ्चालन कार्यविधि २०७३ तयार हुनु अगाडि स्थानीय निकाय नभएको बेलामा देखि टोल सुधार समितिहरूले समुदायको हितको लागि राम्रो भूमिका खेलेको कुरा यसमा चर्चा भएको छ । भरतपुर महानगरको अभिलेख अनुसार २९ वटा वडामा गरी ६३५ टोलविकास संस्था कार्यरत छन् जसमध्ये १६ नं .वडामा सबैभन्दा बढी ३५ टोल विकास संस्था र सबै भन्दा कम १२ नं .वडामा १२ वटै टोल विकास संस्था रहेका छन् भन्ने कुरा पनि यो निबन्धमा पाइन्छ । स्मरणीय छ भरतपुर वडा नं.१० मा २८ वटा टोल विकास संस्था रहेका छन् ।

श्री गणेश भगवानको महिमा शीर्षकमा होमप्रसाद जोशी द्वारा गणेशको महिमा उल्लेख छ । १२ आदित्य , ११ रुद्र , आठ बसु र दुई अश्विनीकुमार गरी ३३ कोटी देवतालाई पूजा गर्दा प्राप्त हुने फल गणेशको पूजा गर्नाले प्राप्त हुन्छ भन्ने चर्चा गरिएको छ । गणेशकी जेठी पत्नी ऋद्धिबाट शुभ र कान्छी पत्नी सिद्धिबाट लाभ नाम गरेका पुत्र जन्मेको, गणेशको बार मंगलबार, गणेश चतुर्थी गणेशको जन्म दिन भएको वर्णन सहित गणेशका २१ नामहरू यो शीर्षकमा समावेश छन् । जीवन मुक्तिको बाटो शीर्षकमा , शिवकुमार बरालको भजन समावेश छ । चोला पाएको किन , सधैंभरी श्रीकृष्ण संझिन बोलको भजन छ । संगीतको धुन मिलाएर भजन अभ्यास गर्ने भक्तहरूलाई सन्दर्भ सामग्री को रुपमा यो भजनले महत्व बोकेको छ ्रजीवन शीर्षकमा कोशलेन्द्र बहादुर कँडेलको कविता छ । थाहा बिनाको आदि र अन्त्य बीचको छोटो बसन्त नै जीवन रहेछ र बाँच , बचाऊ र बाँच्न देऊ नै जीवनको सार रहेछ भन्ने भाव बोकेको कविताले यो स्मारिकाको फरक स्वाद र विविधता दिएको छ ।

रजत स्मारिकामा प्रकाशित लेखमा भएका कुराको अर्थ र भावमा अन्यथा नहुने गरी अवलोकनको सार निकाल्ने इमान्दार प्रयास गरेको छु । प्रकाशित लेख रचनाहरूको जवाफदेहिता लेखक स्वयंको हुने व्यहोरा अनुरोध गर्दै स्मारिकाको प्रकाशनमा संलग्न सबै प्रति धन्यवाद ज्ञापन गर्दछु । स्मारिकाको अवलोकन प्रस्तुत गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दछु । वीरेन्द्र क्याम्पसरोड नमूना टोल विकास संस्था तथा श्री ऋद्धि–सिद्धि गणेश मन्दिर परिवारलाई हार्दिक बधाईका साथै निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

( भरतपुर–१० निवासी लेखक सापकोटा सेवानिवृत्त शिक्षक तथा शिक्षा मन्त्रालयको पूर्वसल्लाहकार हुनुहुन्छ ।)

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button