बिज्ञापन

हरित कर्णाली अभियानका लागि वृक्षरोपण: मुख्यमन्त्री कँडेल

कर्णाली, असार १४-

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताउनुभएको छ । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उहाँले प्रकृति संरक्षणका लागि वृक्षरोपण आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो व्यवस्थापन, संरक्षणमा बेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षरोपण कर्मकाण्ड पूरा गर्न होइन, यहाँका नागरिकको स्वस्थ जीवन र समृद्धिका लागि हो ।” सरकारीस्तरबाट गरिएका कार्य ‘क्या राम्रो हुँदा रहेछन्’ भन्ने अनुभूति हुने गरी वृक्षरोपण कार्य गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।

डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं १ बाङगेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षरोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्ष रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । त्यस्तै, ११ दिने प्रदेश राजधानी वृक्षरोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।

डिभिजन वन अधिकृत श्रेष्ठले रु २० लाखको बजेटमा सञ्चालन हुने उक्त कार्यक्रमबाट रोपेका बिरुवाको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’समेत परिचालन गरिने बताउनुभयो । वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीको सहभागिता रहेको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button