डलर सँगै कतारी रियालको भाउ बढ्यो

हालसालै बढेको अमेरिकी डलरको भाउ संगै एसियन राष्ट्रका आप्रवासी कामदारहरूलाई केही राहत पुगेको छ।डलर उकासिए सँगै वर्षको सुरुवात देखि घटेको एसियन राष्ट्रको पैसाको भाउ हाल ६ प्रतिशतले वृद्धि भएको हो।
एसियन राष्ट्रहरू मध्ये नेपाल,पाकिस्तान र श्रीलंकाको पैसाको भाउ लाई फाइदा पुगेको छ।वर्षको सुरुवातमा १ रियाल बराबर २७.९ मा कारोबार भइरहेको नेपाली रुपैयाँ हाल बढेर २९.६२ सम्म पुगेको छ।त्यस्तै यो भाउ अबको ६ महिना सम्म वरपर रहने विश्वास गरिएको आजको पेनिनसुला पत्रिकाले लेखेको छ।
किन बढ्यो डलरको भाउ ?
अमेरिकी डलर अधिमूल्यन भएर एक वर्षयताकै सबैभन्दा उच्च विन्दूमा पुगेको छ।पेट्रोलियम पदार्थ तथा सुनको अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले डलरको मूल्य अाकाशिन सघाएको देखिन्छ। अमेरिकी सेयर बजारप्रति बढ्दो आकर्षण डलर अधिमूल्यनको अर्को कारण हो।
देशलाई घाटा
आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्यवृद्धि हुँदा नेपाली उपभोक्ताले आयातित वस्तु एवं सेवामा मूल्य वृद्धि सामना गर्नुपर्ने हुन्छ। तेस्रो मुलुकबाट हुने आयातमा अझ छिटो यसको असर पर्नेछ। डलर महँगो हुँदा सरकारमा वित्तीय दायित्व बढ्नेछ। किनभने विदेशी ऋणको साँवा ब्याज भुक्तानी महँगिएको डलरमै गर्नुपर्ने हुन्छ।
रेमिट्यानसलाई फाइदा
डलरको भाउ बढ्दा नेपालीले फाइदा पुग्ने एउटा मुख्य क्षेत्र भनेको रेमिट्यान्स हो। वैदेशिक रोजगारीको रकम रेमिट्यान्सबाट डलरमै आउने हुँदा नेपालमा रहेका परिवारले केही बढी रकम बुझ्नेछन्। पर्यटक, विदेशी मुद्रामा सेवा लिने व्यवासायीलाई पनि यसले लाभ पुग्नेछ।