आत्मनिर्भर बन्न कतारले ल्यायो पाँच बर्षे विकास योजना

कतारले आफूलाई आत्मनिर्भर बनाउन पाँच वर्षे विकास योजना ल्याएको छ ।
गएको जुन ५ तारिखमा साउदी सहित ९ वटा देशले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँगको कुटनीतिक सम्वन्ध तोडेपछि आइपरेको आर्थिक संकट समाधान गर्न कतारले यो याेजना ल्याएको हो । योजनाले कुट्नीतिक सम्बन्ध तोड्दा आइपरेका समस्या समाधान गर्न सहयाेग पुग्ने कतारको भनाई छ ।
सन् २०१८ देखि २०२२ सम्मको यो राष्ट्रिय विकास नीतिमा उर्जा खपत, माछा सहित अन्य बस्तुको उत्पादनको स्तर बढाउने र उर्जाको विकासलाई प्रोत्साहन गर्ने रहेको छ ।
कतारी प्रधानमन्त्री शेख अब्दुल बिन नासर अल थानीले जारी गर्नुभएको योजनामा किसानलाई खेतीपातीमा ३० प्रतिशत र माछापालनलाई २०२२ सम्ममा ६५ प्रतिशत पुर्याउने उल्लेख छ ।
कुटनीतिक सम्बन्ध तोडेसँगै यी देशले कतारसँग सामुन्द्रिक, जमिन र हवाइ मार्ग समेत बन्द गरेका छन् । तर कतारले छिमेकी देशको यो आरोपलाई खण्डन गरिसकेको छ । कतारले बुधबार यो नीति ल्याएको हो ।
।