भोलि देखि यस्तो छ मेट्राे चल्ने समय

कोरोनाभाइरसका कारण बन्द भएको दोहा मेट्राे भोलि देखि पुन सन्चालनमा आउँदै छ ।
कतार सरकारको निर्णय अनुसार विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध हट्दै जाने क्रममा मेट्राे तथा सार्वजनिक यातायात सेवा ३० प्रतिशत यात्रु क्षमता सहित सेप्टेम्बर १ देखि पुन सुचारु हुन लागेको हो ।
मेट्राे चल्ने समय
दोहा मेट्राे शनिबार देखि बुधबारसम्म बिहान ६ देखि राती ११ बजे सम्म चल्नेछ । त्यस्तै बिहिबार मेट्राे बिहान ६ देखि राती १२ बजे सम्म र शुक्रबार दिउँसो २ देखि राती १२ बजे सम्म चल्ने कतार रेलले जनाएको छ । मेट्राे स्टेशन सम्म जोड्ने बस तथा भ्यान सेवा पनि सोही समयमा चल्नेछ ।
नयाँ स्टेशन थपियो
दोहा मेट्रोको रेड लाइन अन्तर्गत नयाँ लेग्टाइफिया स्टेशनले पनि भोलि देखि सेवा सुरु गर्दैछ । यो संगै दोहा मेट्रोको ३७ स्टेशनहरू सन्चालनमा आउनेछ ।
लेग्टाइफिया स्टेशन कतारा र कतार विश्वविद्यालय स्टेशनको बीचमा पर्दछ । यो कतारको ल्यान्डमार्क पर्ल कतारको नजिक र लुसेल ट्रामको इन्टरचेन्ज स्टेशन मध्येको एक रहेको छ ।
निशुल्क वाईफाई
दोहा मेट्राेले यात्रुहरुलाई भोलि देखि निशुल्क वाइफाइ उपलब्ध गराउने बताएको छ । मेट्राेले सम्पुर्ण स्टेशन तथा मेट्राेमा ३० मिनेट सम्मको निशुल्क वाईफाई उपलब्ध गराउने ट्विटर मार्फत जानकारी दिएको छ । ३० मिनेट पश्चात भने वाईफाई चलाउन शुल्क लाग्नेछ । थप शुल्कको बारे भने कुनै जानकारी दिइएको छैन ।