अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने

हिजो मात्र कतारसँग आतंकवाद विरुद्ध लडने सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन आज साउदीको जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन दोहाबाट साउदी अरव पुग्नुभएको छ । साउदी अरवको आयोजनामा हुन लागेको बैठकमा सहभागी हुनु अघि टिलरसनले मंगलबार कतारसँग आतंकवाद विरुद्ध लडने सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।
अमेरिका र कतार मिलेर थप समन्वय गर्ने, सूचना आदान प्रदान गर्ने र क्षेत्र र मातृभूमिको सुरक्षा गर्ने टिलरसनले बताउनुभयो । उहाँले भन्नुभयो ‘पृथ्वीले भोगिरहेको आतंकवादलाई अन्त्य गर्ने अमेरिकाको लक्ष्य हो ।’ आतंकवादसँग लडने सम्झौतामा अमेरिकासँग हस्ताक्षर गर्ने कतार पहिलो मुलुक भएको छ । टिलरसनले भन्नुभयो ‘कतारमाथि नाकावन्दी लगाउने मुलुकहरुलाई पनि यो सम्झौतामा हस्ताक्षरकर्ताको रुपमा जोडिन आब्हान गर्दछौ ।’
साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने सो बैठकमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएकाले पनि यो बैठकलाई बिशेष महत्वका साथ हेरिएको छ।

अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुग्नुभएको हो ।
यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की पुग्नुभएको थियो । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो ।
खाडी क्षेत्रका केही मुलकले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनद्वारा कतारले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै गत महिनादेखि कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।
कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ ।
कतारले सोमबार चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको थियो । – रासस/सिन्ह्वा