दुध तथा दुग्धजन्य पदार्थ आयात नखुलाउन चितवनका किसानको माग

चितवन,कात्तिक ७-
चितवनका किसानले दुध तथा दुग्ध जन्य पदार्थको आयात नखुलाउन माग गरेका छन । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी किसानहरुले सरकारले भारत लगायतका देशबाट दुध तथा दुग्ध जन्य पदार्थको आयात खुलाउने तयारी गरेको भन्दै नखुलाउन माग गरेका हुन् ।
नेपाल दुग्ध जन्य पदार्थमा आत्मनिर्भर भएको दाबी गर्दै स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्न किसानले माग गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले विभिन्न बाहानामा नेपालका किसानलाई धरासायी गराउनेगरी आयात नखल्न सरकारलाई अनुरोध गर्नुभयो । ‘विभिन्न बाहानाबाजीमा बेलाबेलामा मिल्क होलीडेको सामाना गरिराख्नुपर्ने बाध्यत्मक अवस्था अझै कायमै छ,उहाँले भन्नुभयो,यदि दुध आयात हुने अवस्था आए सबै किसान बिस्थापित हुने निश्चित छ ।’ किसानहरुले सरकारलाई दबाब दिएपछि तत्कालिन कृषिमन्त्री चत्रपाणि खनालका पालामा सरकारले दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको थियो । फेरी आयात खुलाउने हो भने सम्पूर्ण किसानहरु आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभयो । चितवनका किसानले छ महिनादेखि दुधको भुक्तानी समेत नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार यहाँका किसानले करिब ७० करोड भुक्तानी पाएका छैनन् । सरकारकै स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र केही नीजि डेरीहरुले पनि दुधको पैसा नदीएको उहाँले बताउनुभयो । डिडिसीले र नीजि डेरीले ३५÷३५ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ ।
आयात रोक्नका लागि मंगलबार मात्रै चितवनका किसानले कृषि मन्त्रीलाई रामनाथ अधिकारीले भेट गरेर जानकारी गराएका छन । सो क्रममा मन्त्री अधिकारीले दुध र दुग्धजन्य पदार्थको आयात खुलाउने पक्षमा आफू नरहेको बताउनुभयो । तर आयातको निर्णय उद्योग मन्त्रालयबाट हुने हुँदा रोक्नका लागि सो मन्त्रालयलाई अनुरोध गर्ने मन्त्री अधिकारीले आश्वासन दिनुभयो ।
चितवनमा दैनिक साढे ३ लाख लिटर दुध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये ५५ प्रतिशत दुध बाहिरी जिल्लामा खपत हुने गरेको छ । दुग्ध उत्पादक सहकारी संस्थाका अनुसार चितवनमा ४० हजार किसान रहेका छन ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।