एमाले–कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणनामा प्रमुख दल कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । गत ३१ वैशाखमा सम्पन्न पहिलो चरणको निर्वाचनमा जस्तै माओवादी तेस्रो स्थानमा छ ।
बिहीबार मध्यरातसम्मको नतिजामा कांग्रेस, एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिकामा विजय हासिल गरेका छन् । कांग्रेसले बझाङको काँडा, एमालेले मस्टा तथा माओवादी केन्द्रले सोलुखम्बुको लिखुपिखे गाउँपालिकाको अध्यक्ष जितेका छन् । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३०७ स्थानीय तहमा मतगणना भइरहेको छ । बिहीबार मध्यरातिसम्मको अपडेटमा एमालेले १०१ स्थान, कांग्रेसले ९८ स्थानमा तथा माओवादी केन्द्रले ३२ स्थानमा अग्रता लिइएका छन् । त्यस्तै, संघीय समाजवादी फोरमले ४, फोरम लोकतान्त्रिकले २, राप्रपाले २ स्थानमा अग्रता लिइरहेका छन् ।
एक मात्रै महानगरपालिका विराटनगरमा कांग्रेस उम्मेदवार भीम पराजुलीले सुरुवाती अग्रता लिएका छन् । एमाले उम्मेदवार विनोद ढकालले उनलाई पछ्याइरहेका छन् । त्यस्तै, सात उपमहानगरमध्ये कांग्रेसले बुटवल, इटहरी, धरान र धनगढी नगरपालिकासहित चार र एमालेले नेपालगन्ज, तुल्सीपुर र घोराहीसहित तीनवटामा अग्रता लिइरहेको छ ।
३३४ मध्ये ३०७ मा मतगणना जारी
स्थानीय तहको दोस्रो चरणअन्तर्गत बुधबार निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये ३०७ मा मतगणना भइरहेको छ । उच्च पहाडी र हिमाली जिल्लाका केही मतदानस्थलबाट मतपेटिका संकलनमा समस्या भएका कारण २५ स्थानीय तहमा मतगणना हुन नसकेको हो ।
राजपा पनि प्रतिस्पर्धामा
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्षमा राजपाबाट स्वतन्त्र उम्मेदवार बनेका जानकी यादवले अग्रता लिएका छन् । एमाले उम्मेदवार गोपाल थापाले यादवलाई पछ्याइरहेका छन् । सो गाउँपालिकामा लोकतान्त्रिक फोरमका उम्मेदवार सतिश गुप्ता तेस्रो स्थानमा छन् । यस्तै, महाराजगन्ज नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार दीर्घनारायण पाण्डे ३२६ मतका साथ अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार अब्दुल कलामले दुई सय मतका साथ पछाडि छन् ।
एमाले जिल्लासचिव वडा सदस्यमा पराजित
एमाले सोलुखुम्बु सचिव हर्क नाछिरिङ राई सोताङ गाउँपालिकाको वडा सदस्यमा २९ मतले पराजित भएका छन् । सोताङको वडा नम्बर १ मा खुला सदस्यका उम्मेदवार राईलाई कांग्रेसका राजबहादुर बस्नेतले पराजित गरेका हुन् । बस्नेतले ३०९ र राईले २८० मत ल्याए । सो वडामा जंगबहादुर गुरुङको नेतृत्वमा कांग्रेस प्यानल विजयी भएको छ ।
थवाङमा माओवादीसँग कांग्रेस–एमाले–विप्लव गठबन्धन
रोल्पाको थवाङ–५ उवामा माओवादी केन्द्रका गोवद्र्धन घर्ती वडाध्यक्षमा विजयी भएका छन् । घर्तीले २८७ मत ल्याएका थिए । विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवार दुर्गमान रोकाले १०६ मत ल्याएका छन् । थवाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता छ । अध्यक्षमा वीरबहादुर घर्तीले २८५ र उपाध्यक्षमा रामकिरणी रोकाले २८३ मत ल्याएका छन् । कांग्रेस–एमाले र विप्लवका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका अमित घर्तीको १३३ र उपाध्यक्ष उम्मेदवार श्रीकुमारी बुढाको २१० मत छ ।
कैलालीमा लोकतान्त्रिक फोरमको अग्रता
कैलालीको टीकापुर नगरपालिका प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । नगरपालिका प्रमुखमा लोकतान्त्रिक फोरमलाई एमाले र कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् । कैलाली लोकतान्त्रिक फोरमको प्रभाव जिल्ला पनि हो । कैलालीबाट ०७० को संविधानसभा निर्वाचनबाट रामजनम चौधरी निर्वाचित भएका थिए । नवलपरासीको एक स्थानीय तहमा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ ।
त्यसैगरी, सुनसरीको दुहबी नगरपालिकामा लोकतान्त्रिक फोरमको उपस्थिति राम्रो देखिएको छ । दुहबी लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारको क्षेत्र हो ।
यस्तै, कोसी गाउँपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार देवकृष्ण यादव १०५ मतले अगाडि छन् । उनी राजपानिकट स्वतन्त्र उम्मेदवार हुन् । उक्त गाउँपालिकामा कांग्रेस ३१ मतसहित दोस्रो छ । त्यसैगरी, सुनसरीका बर्जु गाउँपालिकामा लोकतान्त्रिक फोरमको उपस्थिति राम्रो देखिएको छ ।
बाँकेमा संघीय समाजवादीको प्रभाव
संघीय समाजवादी फोरमको प्रदेश नम्बर ५ मा राम्रो उपस्थिति देखिएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा फोरमले अग्रता लिएको छ । नरैनापुर गाउँपालिकामा संघीय समाजवादी, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । डुडुवा र जानकी गाउँपालिकामा भने संघीय समाजवादी दोस्रो स्थानमा रहेको छ । डुडुवा गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा टक्कर छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा संघीय समाजवादी फोरम र राजपाका स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । रूपन्देहीकै रोहिणी गाउँपालिकामा संघीय समाजवादीले अग्रता लिएको छ ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ बाट नयाँ शक्ति र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उदयराज गडरिया ८४९ मत ल्याई विजयी भए ।
शुक्रबार दुई स्थानमा मतदान
निर्वाचन आयोगका अनुसार बझाङ र रूपन्देहीका दुई स्थानमा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार स्थगित भएका रूपन्देहीको कोटहिमाही गाउँपालिका–१ र बझाङको जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा आज मतदान हुँदै छ ।