कतारमा पहिलोपटक शुरा काउन्सिलको मतदान सुरु

कतारको इतिहासमै आज पहिलो पटक बहुप्रतिक्षित शुरा काउन्सिलको निर्वाचन सुरु भएको छ । बिहान ८ देखि बेलुका ६ बजे सम्म हुने मतदानमा हजारौं कतारी नागरिकले मतदान गर्नेक्रम जारी छ ।
मतदानको नतिजा आजै बेलुका आउने अपेक्षा गरिएको छ ।
के हो शुरा काउन्सिल ?
शुरा काउन्सिलको मतदान कतारको विधायी चुनाव हो ।
४५ मध्ये जम्मा ३० सिटका लागि भैरहेको मतदानमा २७ महिला सहित २५२ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । बाँकी १५ सिटको प्रतिनिधि कतारी संविधान अनुसार अमिर शेख तमिम बिन हमाद अल थानीले घोषणा गर्नुहुनेछ ।
नवनिर्वाचित शुरा काउन्सिलसंग विधायी अधिकार हुनेछ र राज्यको सामान्य नीति तथा बजेटलाई यसले अनुमोदन गर्नेछ । यसले राज्यको रक्षा, सुरक्षा, आर्थिक र लगानी नीति परिभाषित गर्ने निकायहरु बाहेक अन्य कार्यकारीमाथि नियन्त्रण गर्न पाउनेछ ।

२०२१ को अमीरी निर्देशन नम्बर ३७ अनुसार कतार ३० चुनावी जिल्लाहरुमा विभाजित छ, जसमध्ये प्रत्येकमा एक एक जना प्रतिनिधि छनौट हुनेछन् । कानून अनुसार सबै उम्मेदवारहरु अरबी भाषा पढ्न र लेख्न सक्ने ३० वर्ष भन्दा माथिका कतारी नागरिक हुनुपर्नेछ ।
यसअघि सबै ४५ जना प्रतिनिधि हरेक चार वर्षमा अमिरबाट नियुक्त हुने चलन थियो । तर यसै वर्ष देखि सर्वसाधारणलाई उनीहरुको प्रतिनिधि छनौट गर्ने अधिकार दिइएको छ ।
५ नम्बर जिल्लाका एक मात्र उम्मेदवार हसन अब्दुल्लाह घनीम अल गनीम अल मादेदको जित पुष्टि भैसकेको छ।
कतारको शुरा काउन्सिल सन् १९७२ मा स्थापना भएको थियो ।