नेपालमा कोरोना : एकै दिन ११ जनामा संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

कपिलवस्तुमा थप दश जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने सप्तरी जिल्लामा थप एकमा पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.५, बुद्धभुमि नगरपालिका वडा नंं.७ र वडा नंं.१० का गरी तीन वडाका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका हुन् भने एक जनाको उमेर नखुेलेको अधिकारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल चिकित्सकको निगरानीमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
त्यस्तै सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण भेटीएको हो ।
चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछिपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।
भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।