बिज्ञापन

परिवारसहित वैकुण्ठ तालमा घुम्न गएका थिए अर्जुन, छोरीले फोटो खिच्दैगर्दा तालमा खसेर अस्ताए

चितवन,कात्तिक २४-

बिहीबार छठ पर्वका दिन सर्वजनिक बिदा थियो। चितवनको भरतपुर महानगरपालिका–१६ प्रगतिटोलका ३५ वर्षीय अर्जुन गौतमले बिदाको सदुपयोग गर्न घुम्न जाने योजना बनाए। भरतपुरकै प्रभावशाली चार्टर एकाउन्टेन्टको रुपमा प्रख्यात गौतम छठ पर्वको दिन कुनै धार्मिक स्थल घुम्न जाने सोचमा थिए।

पारिवारिक स्रोतका अनुसार अर्जुनले आफ्नी श्रीमती शर्मीला गौतमलाई पनि एक दिनको लागि अफिसमा बिदा लिन भनेका रहेछन्। नारायणी सामुदायिक हस्पिटलमा नर्सको काम गर्ने शर्मीलाले ‘आज बिदा मिलाउन सकिन्न, अरु कुनै दिन मिलाएर जाउँला’ भनेकी थिइन्। अर्जुनका काका नाता पर्ने दण्डपानी गौतमले दिएको जानकारी अनुसार शर्मीला त्यती भनेर हस्पिटल निस्किइन्।

तर अर्जुनले श्रीमती जान नभ्याए पनि आफ्ना आमा बुवा, छोरीहरू र ससुरालीका बा–आमा लिएर जाने निर्णय गरे। आमा देवी गौतम, बुवा टीकाराम गौतम र दुई छोरीहरू लिएर घरबाट निस्किए। आफ्नो घर नजिकै रहेको ससुरालीमा पनि घुम्न जानका लागि खबर गरे। अर्जुनकी सासुआमा र सालो पनि उनीहरूसँगै घुम्न गएको दण्डपानी बताउँछन्।

‘ससुरालीमा फोन गर्दा अर्जुनका ससुराबुवाले म भ्याउँदिन ज्वाइँ भन्नुभयो रे। सासुआमा र सालोचाहिँ सँगै गएका रहेछन्,’ दण्डपानीले भने, ‘कसरा भन्ने ठाउँमा पुगेपछि अर्जुनकी सासुले हामी वैकुण्ठ ताल नजाम्। बरु ठोरी अयोध्या हेर्न जाउँ भन्नुभएको थियो रे। तर अर्जुन आफैँले एकपटक गएर आउँ न भनेर कर गरेरै गएको भन्नुहुन्छ उहाँहरु।’ दण्डपानीका अनुसार वैकुण्ठ तालमा जानमा लागि गाडिबाट ओर्लिएर हिँड्ने क्रममा अर्जुन आफ्नो जेठी छोरीलाई लिएर अघिअघि गएका थिए।

आमाबुवा, सासुआमा र सालो चाहिँ सानी छोरी लिएर अलि पछाडी आउँदै थिए। उनीहरू जब तालको नजिक पुगे त्यहाँ अर्जुन देखेनन्। छेउमै हातमा मोबाइल बोकेर उभिरहेकी जेठी नातिनीलाई उनका हजुरबुवा टीकारामले ‘बाबा खोइ त छोरी ?’ भनेर सोधे। अर्जुन उभिएको ढुंगातिर उनले हातले इशारा गर्दै भनिन्, ‘बाबा उ त्यहाँ जानुभएको छ। अहिले आउनुहुन्छ।’

त्यतिबेलासम्म अर्जुन वैकुण्ठ तालमा डुबिसकेको अवस्थामा परिवारका अन्य सदस्यले देखेको अर्जुनका काका दण्डपानीले सुनाए । परिवारको साथमा वैकुण्ठ ताल घुम्न पुगेका अर्जुन सोही तालमै अस्ताए। परिवारका सदस्यहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरीले घटनास्थलबाट अर्जुनलाई बेहोस भएको अवस्थामा उद्धार गर्‍यो। उपचारका लागि सोही दिन भरतपुर सरकारी अस्पतालमा ल्याइपुर्‍यायो। तर अस्पतालसम्म आइपुग्दा नै उनको शरीरले श्वास फेर्न छोडिसकेको दण्डपानीले बताए।

‘एकछिन त कता गयो भनेर खोज्न थालेका अरे,’ लामो सास फाल्दै दण्डपानीले भने, ‘छोरीले फोटो खिच्न ढुंगामा चढेको बताएपछि मात्रै चिप्लिएर तालमा डुब्यो भन्ने थाहा भएछ। उद्धार गर्ने बेलासम्म के श्वास रहन्थ्यो !’ मृतक अर्जुनका ५ वर्ष र २ वर्षको दुई छोरी छन्। अर्जुन दुई दाजुभाई मध्येका जेठो छोरा हुन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button