ईरानी मिसाइलको घटनाबाट क्षति पुगेका नागरिक र बासिन्दालाई क्षतिपूर्तिको घोषणा

कतारका अमीर महामहिम शेख तमीम बिन हमाद आल थानीको निर्देशनअनुसार, गृह मन्त्रालय अन्तर्गतको सिभिल डिफेन्स काउन्सिलले ईरानी मिसाइल रोकिँदा खसेको स्र्यापनेल (शेलका टुक्रा) का कारण निजी सम्पत्तिमा क्षति पुगेका कतारी नागरिक र बसोबास गर्ने विदेशी बासिन्दालाई क्षतिपूर्ति प्रदान गरिने घोषणा गरेको छ।
यस अन्तर्गत घर, सवारीसाधन, औद्योगिक संरचना तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिलाई समेटिएको छ। यस्ता क्षति पहिले नै सम्बन्धित सुरक्षा निकायमा आधिकारिक रूपमा दर्ता गरिएको हुनुपर्छ।
सिभिल डिफेन्स काउन्सिलले सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरी कानुन र नियमअनुसार क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउनेछ।
जसले हालसम्म आफ्नो क्षति रिपोर्ट गरिसकेका छैनन्, तिनीहरूले आज सोमवार १४ जुलाई भित्र “Metrash” मोबाइल एपमार्फत क्षतिपूर्ति माग गर्न सक्नेछन्।

यसका लागि एपको “Communicate with Us” खण्डमा रहेको “Requests” आइकनमा गएर, सम्बन्धित सेवा छान्नुपर्नेछ। त्यसपछि आवश्यक विवरणहरू भरेर, क्षतिको विवरण र स्थान उल्लेख गरी, यदि उपलब्ध छ भने तस्बिर वा कागजात अपलोड गर्नुपर्नेछ र अन्त्यमा अनुरोध पेस गर्नुपर्नेछ।
गृह मन्त्रालयले सो समयसीमापछि प्राप्त हुने कुनै पनि दाबी स्वीकार नहुने स्पष्ट पारेको छ।