विश्वका प्रबुद्ध व्यक्तिको सम्मेलन सुरु

विश्वका प्रबुद्ध व्यक्तिहरूको सम्मेलन (फिफ्थ थिंक ट्यांक समिट) सोमबार बेइजिङमा सुरु भएको छ । चीन र विश्वका अन्य मुलुकका गरी १ सयभन्दा बढी विज्ञहरूको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ले जनाएको छ ।
सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवं विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ । विश्वभरिका अनुसन्धानकर्ताले नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिनुपर्ने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का उपप्रमुख चेन युयानले बताए ।
बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरूको सहभागिता गराउन उनले चीनलाई अनुरोध गरे । सम्मेलनका सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताए । उनीहरूले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए ।