रोनाल्डोको प्रशंसामा विराटको शब्द : तिमी मेरो लागि सर्वकालीन सर्वोत्कृष्ट

काठमाडौं – भारतीय क्रिकेटर विराट कोहलीले विश्वकपबाट बाहिरिएका पोर्चुगिज सुपरस्टार रोनाल्डोप्रति सदासहायता दर्शाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रोनाल्डोलाई सर्वकालीन सर्वोत्कृष्ट फुटबलरको संज्ञा दिए ।
कोहलीले भनेका छन्, ‘यो खेल तथा संसारभरका खेलप्रेमीहरूका लागि तिमीले जे गरेका छौ, त्यसलाई कुनै पनि उपाधि र ट्रफीले खोस्न सक्दैन । म र संसारभरका धेरैले तिमीलाई खेलिरहेका हेर्दा जे अनुभूति गर्छौं, मानिसहरूमा तिम्रो जस्तो प्रभाव छ, त्यसलाई कुनै पनि उपाधिले वर्णन गर्न सक्दैन । यो भगवान्को उपहार हो ।’
रोनाल्डोले हरेक खेलमा पूर्णलगाव र दिलोज्यान दिएर खेल्ने गरेको भन्दै कोहलीले यसलाई वास्तविक आशिर्वादको संज्ञा दिएका छन् । ‘मेरो लागि तिमी सर्वकालीन महानतम् खेलाडी हौ,’ उनले लेखेका छन् ।