एनआरएनए अध्यक्षमा भवन भट्ट, कतारका शर्मा मध्यपुर्व संयोजकमा निर्वाचित

निकटतम प्रतिद्वन्द्वी निर्वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङलाई हराउँदै गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।
अध्यक्ष दाबेदार कतारका टीबी कार्की अन्तिम स्पर्धाबाट पछि हटेपछि भट्ट र गुरुङबीच प्रतिस्पर्धा भएको थियो ।
जापानमा रेष्टुरेन्ट व्यवसायमा सफल मानिएका भवन भट्टको २९० वटा रेष्टुरेन्ट रहेका छन् । जसबाट वार्षिक ३५ अर्बको कारोबार हुने गरेको छ । व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्टको नेपालमा पनि उद्योग, संचार, कलेज लगायतका क्षेत्रमा लगानी रहेको छ। २० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भट्ट एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् ।
२००३ मा स्थापना भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो ।
यस्तै एनआरएनएको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए , महासचिवमा डा बर्दी केसी,सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएका छन् ।
एन.आर.एन.ए आइसीसी मध्यपुर्व संयोजकमा कतारका राजेन्द्र कुमार शर्मा (आर के शर्मा) निर्वाचित भएका छन्। एन.आर.एन.ए आइसीसी मध्यपुर्व उप-संयोजकमा कतारकै प्रविन गुरुङ यस अघीनै निर्बिरोध बिजयी भईसकेका छन् भने साथमा गोपाल कँडेल पनि विजयी भएका छन् ।
१८ सय ५४ मत मध्ये १७ सय ४४ मतमा अधिकांश भवन भट्ट समूहकाले बिजय प्राप्त गरेका छन् । क्षेत्रीय संयोजक र उपसंयोजकमा विजयी हुने पनि भवन भट्ट समूहकै छन् । जमुना गुरुङ समूहका एकजना सचिव बाहेक अरु जित्न सकेन ।