चितवन राइनोजको मुख्य प्रायोजकमा ‘ब्लुस्टार’
चितवन, मंसिर ६–
नेपाल प्रिमियर लिगको फ्रेन्चाईज चितवन राइनोजले मुख्य प्रायोजक सार्वजनिक गरेको छ ।
बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा ‘ब्याटल अफ राइनोजः ब्रेकिङ द क्र्यास’ कार्यक्रममा एयर कण्डिसनर कम्पनी ‘ब्लुस्टार’ रहेको घोषणा गरिएको थियो । सो क्रममा चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले ब्लुस्टारको चितवन विक्रेता ओजस्वी इलेक्ट्रोनिक्स प्रा.लि.का प्रमुख प्रतिक पन्तलाई मायाको चिनो प्रदान गरेका थिए ।
योसंगै चितवन राइनोजको जर्सीको अगाडिको भागमा ब्लुस्टारको लोगो रहनेछ । सो क्रममा बोल्दै पन्तले आफू पनि क्रिकेट खेलप्रेमी भएकाले चितवन राइनोजसंग जोडिन पाएकोमा खुशी व्यक्त गरे । चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले पनि मुख्य प्रायोजकको रुपमा ब्लुस्टारलाई हातेमालो गरेकोमा धन्यवाद दिए । उनले सहकार्यलाई लामो समयसम्म लैजाने विश्वास व्यक्त गरे ।
चितवन राइनोजले केहीदिन अघि मात्रै आधिकारिक जर्सी, एन्थम र गैंडाको मस्कट सार्वजनिक गरेको थियो । अहिले चितवनमै टोलीले प्रशिक्षण गरिरहेको छ । चितवन राइनोजको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन् । प्रतियोगितामा पहिलो खेल चितवनले मंसिर १७ गते काठमाडौँ गुर्खाजसंग खेल्दै सुरुवात गर्नेछ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।