दूतावासको छलफल कार्यक्रम सम्पन्न,पीडित कामदारको उपस्थिति देखिएन

कतारस्थित नेपाली दूतावास आयोजनामा गएको शुक्रबार नेपाली समुदाय एवं संघसंस्थारुसंग चौथौ शेरिङ एण्ड हेरिङ (सुन्ने/बाँड्ने) बिषयक अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पीडित कामदारहरुको सहभागिता भने देखिएन।
दूतावासले नियमित रुपमा सम्पन्न गरेको कार्यहरुको जानकारी दिने एवम् सम्बन्धितबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यका साथ यस कार्यक्रमको शुरुवात गत वर्षको अक्टोबर २७ देखि भएको थियो। उक्त कार्यक्रममा नेपाली राजदूतावासको नियमित सेवा प्रवाह सम्बन्धी विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजदूतावासले पौष तथा माघ महिनामा प्रवाह गरेको सेवाहरु, राजदूतावासको नियमित सेवा प्रवाह एवम् कतारमा समारोह आयोजना गर्दा अपनाउनुपर्ने प्रकृयाको सम्बन्धमा छुट्टाछुट्टै प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राजदूतावासको प्रस्तुतीकरण पश्चात् सहभागीहरुको विभिन्न जिज्ञासाहरुको राजदूतावासको तर्फबाट जवाफ दिइएको थियो ।
कार्यक्रममा बोल्दै कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइरालाले उक्त कार्यक्रममा उपस्थित भई आफ्नो जिज्ञासा तथा सुझाव राखिदिएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेपाल-कतार सम्बन्ध स्थापनाको ४० बर्ष पूरा भएको अवसरमा राजदूतावासले विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागेकोले सो कार्यक्रमहरुलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ।कार्यक्रमको अर्को संस्करणमा पुनः भेट हुने प्रतिबद्धता सहित कार्यक्रमको समापन भएको थियो।