ईतिहास रच्दै कतार,आज देखि विश्वकप सुरु

संसारकै सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता फिफा विश्वकपको २२ औं संस्करण आज देखि सुरु हुँदैछ ।

मध्यपुर्व तथा अरब राष्ट्रमा पहिलोपटक र जाडो महिना हुन लागेकाले पनि यो विश्वकप केही विशेष मानिएको छ । एक महिने प्रतियोगिताको लागि १२ वर्ष अघि देखि कतारले गरेको मिहेनतको परिक्षा  सुरु भएको छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएयता कतारले नयाँ सहर,विमानस्थल,मेट्राे लाइन,नयाँ भवन,पार्क,सात रंगशाला लगायत अन्य पुर्वाधार निर्माण गरिसकेको छ । त्यसका लागि कतारले २ खर्ब २० अर्ब डलर लगानी गरेको छ,जुन विश्वकपको इतिहासमै महङ्गो रहेको छ।

मेस्सी,नियमार,रोनाल्डाे जस्ता फुटबलका महान हस्ती यतिखेर कतारमा छन् । देशको मुख्य सहर बेहुली जस्तो सिङारिएको छ । टिकट नहुने दर्शकलाई विभिन्न स्थानमा विश्वकप हेर्न फ्यान जोन बनाईएको छ ।

उद्घाटन समारोह

बेलुका ५ बजे अल खोरस्थित ६० हजार सिट क्षमता भएको अल बायत रंगशालामा हुने उद्घाटन समारोहको सम्पूर्ण तयारी भैसकेको छ । समारोहको उद्घाटन अमिर शेख तमिम बिन हमाद अल थानीले गर्नुहुनेछ । तीस मिनेटको कार्यक्रममा बिटिएसका जङकुक र कतारी गायक फहद अल कुबैसीले प्रस्तुति दिनेछन् ।

कतारी परम्परालाई विश्व संस्कृतिसँग जोड्न विश्वस्तरीय प्रतिभाको नेतृत्वमा हुने कार्यक्रममा ३२ प्रतिस्पर्धी टोली, यसअघिका आयोजक र कार्यक्रम स्वयंसेवकहरूलाई समर्पित गरिनेछ ।

कतार विरुद्ध इक्वेडर

साँझ ७ बजे आयोजक कतारले इक्वेडरको सामना गर्दैछ । कतारले पहिलो पटक विश्वकप खेल्न लागेको हो । आयोजक राष्ट्रको रुपमा कतार विश्वकपमा सिधै छनोट भएको हो ।

कतार विश्वकपको डेब्यु खेलमै जित निकाल्न चाहन्छ । जितसँगै कतार घरेलु विश्वकपमा सानदार सुरुआत गर्ने कतारको योजना छ।

कतार एएफसी एसियन कप २०१९ को च्याम्पियन समेत हो । तर, दक्षिण अमेरिकी राष्ट्र इक्वेडरविरुद्ध पहिलो खेल खेल्नु कतारको लागि चुनौती हुनेछ ।

इक्वेडरले यस अघि तीन संस्करणको विश्वकप खेलिसकेको छ । इक्वेडरको यो चौंथो विश्वकप हो ।

जर्मनीमा भएको २००६ को विश्वकपमा इक्वेडरले समूह चरण पार गरेको थियो । समूह ‘ए’ मा रहेको इक्वेडर त्यहिँ सफलतालाई दोहोर्याउने योजनामा छ ।

हेड टु हेड :

कतारले इक्वेडरविरुद्ध हालसम्म तीन खेल खेलेको छ । तीनै खेल मैत्रीपूर्ण रहेको छ ।

कतार र इक्वेडरबीच सन् १९९६ मा दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा पहिलो मैत्रीपूर्ण १-१ गोलको बराबरीमा सकिएको थियो ।  दोस्रो मैत्रीपूर्णमा इक्वेडरले २-१ को जित निकालेको थियो ।

कतार र इक्वेडरबीच पछिल्लो पटक २०१८ मा मैत्रीपूर्ण खेल भएको थियो । उक्त मैत्रीपूर्णमा कतारले ४-३ को जित निकालेको थियो ।

सम्भावित सुरुआती-११  :

कतार

साद अलशीब, बोउलेम खाउखी, बसम अलरावी, अब्देलकरिम हसन, पेड्रो मिगुएल, अब्दुलअजीज हातम, हसन अलहायडोस, करिम बौदियाफ, होमाम अहमद, अल्मोज अली, अक्रम अफिफ

इक्वेडर

अलेक्स्जेन्डर डोमिन्गुएज, रोबर्ट अर्बोलेडा, फेलिक्स टोरेस, पिएरो हिनकापी, पर्भिस एस्टुपिनान, जेगसन मेन्डेज, मोइसेस काइसेडो, गोन्जालो प्लाटा, जोसे सिफुएन्टेस, रोमारियो इबारा,  इनर  भ्यालेन्सिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
12
मनपर्‍यो
खुसी लाग्यो
7
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button