ओ प्रिय साथी – नवराज “क्षितिज”

ओ प्रिय साथी। .
संसारभर फैलिरहेको महा संकटले निम्त्याएको लकडाउनले गर्दा हाम्रो भेट हुन सकिरहेको छैन। लकडाउनले भेट हुन असम्भब त बनायो , तर फराकिलो छातीमा अटाएसम्म सम्झिरहन त कसैले रोकेको छैन नि ! त्यसैले मेरो छातीमा अटाएसम्म तिमीलाई सम्झिरहेको छु। भेट हुन मन नलाग्ने त पक्कै होइन तर यो समयमा हाम्रा संबेगहरूलाई शान्त राख्न सक्नुपर्छ। मैले सम्झिरहेछु ,कतिपय अप्ठ्यारा परिस्थितिहरूमा मेरो दिमागी सन्तुलन ठिक बनाइदिने मुख्य श्रोत नै तिमि हौ। तिमि र म भेट नहुनुको चिन्ता पटक्कै होइन यो समयमा। चिन्ता त कुम्लो बोकी खाली पेट घर पुग्न भनी हिडिरहेका मजदुरहरूको हो।
सल्यान कपुरबोटकि १७ बर्षीय कमला घर्ती ( जो सात महिनाकी गर्भवती छिन ) जस्ताको चिन्ता हो। आँधी, हुरी र चट्याङ्ग आफ्नै टाउको माथि नै बजारिरहदा पनि घर पुग्ने अभिलाषाले वीच जंगलमा अलपत्र परिरहेका ती मजदुरहरूको हो। भोकको आँधी अगाडि प्राकृतिक आँधी हुरी चट्याङ्ग र भारी बर्षाको केहि प्रबाह नगरी जीजिविषाको सानो त्यान्द्रो बोक्दै जहान परिवार भेट्न सयौं किलोमिटर हिडिरहेका मजदुरहरूको हो।
सुनन , यो कोरोना भाइरस पनि कति शक्तिशाली छ है , विश्वमा सबैभन्दा शक्तिशाली भनेर बसेका देशहरूलाई पनि एक चुड्किमा घुंडा टेकाइदिएको छ। कोरोना भाइरसरको लक्ष्य भनेकै विश्व भ्रमण गरी , विश्वभरीका मानवजातीलाई घेराबन्दीमा पारी उसको तानाशाह लाद्नु थियो। उसले आफ्नो युक्ति , बुद्दि र अठोट पूरा गरेरै छाड्यो र अहिले विश्वभरीका मानवजातीलाई नजरबन्दमा पारेर कोरोना भाइरसले सर्वाधिक आनन्द लिइरहेको छ।
कोरोना भाइरसले लादेको तानाशाह प्रति विश्वभरका मानवजातीको असहमति छ र पटकपटक कोरोना भाइरसलाई जित्ने अभिलाषाले कोरोना बिरुद्द रिट दायर गर्दा पनि फैसालाको तराजु कोरोना भाइरसकै पक्षमा परिरहेकोले विश्वभरीका मानवजाती निरिह भई , उसले लादेको तानाशाह स्वीकारिरहनु परेको छ। यसले गर्दा सम्पूर्ण मानवजातीको दिनाचार्यमा थप जटिलता थपिदै छ।
विश्वव्यापी रुपमा आफ्नो एकछत्र साम्राज्य बनाइरहेको कोरोना भाइरसले नेपाललाई पनि अछुतो राखेन। सरकारले कोरोनाको माहामारीबाट बच्न नेपालमा पनि लकडाउन ( घोषित बन्दाबंदी ) लागु गरेको पनि आज एक महिना भन्दा धेरै भइसकेको छ। नेपालमा कोरोनाको संक्रमण सामान्य भन्दा निकै उच्च भएर गैरहेको छ। हाम्रो याचनालाई बेवास्ता गर्दै विश्वभरका निशस्त्र मानिसहरूमाथि आफ्नो उर्जा , क्षमता र आक्रोश पोखिरहेको कोरोना भाइरसको एकतर्फी युद्दबिराम कहिले सम्ममा होला ? अनुमान लगाउन सहज छैन। संसारभरका वैज्ञानिकहरूको अथक मिहेनत गरिरहे पनि नतिजा प्राय शुन्य नै भैरहेका छन्।
सरकारले लागु गरेको लकडाउनको पालना गर्दै सबै जनताहरू घरभित्रै बसिरहे। बिहान काम गरी बेलुका छाक तर्ने मजदुरहरू पनि डेरामै बसिरहे। लकडाउन सकिएला भन्दाभन्दै झन्-झन् थपिदैछ। मजुदुरहरुको डेरामा खानेकुरा सकिरहेको सरकारले थाह पाएन। जब मजदुरहरुको पेटमा भोकको आँधी चलन थाल्यो अनि मजदुरहरुले बिर्सिए , सरकारले लगाएको लकडाउनको पुर्बसचेतानाहरू। किनकि भोकको आँधीले प्राकृतिक आँधीले भन्दा नमिठो बिनाश गर्न सक्छ। यो कुरा सरकारले बुझ्न निकै ढिला गरिरहेको छ।
दिनरात नभनी हजारौं मजदुरहरू सयौं किलोमिटर हिडेरै घर पुग्ने निधो गरेर यात्रामा निस्किरहेका छन्। कोहि दुधे बालक च्याप्दै त कोहि पेटभित्रको बच्चा छाम्दै सडकभरी भोकै हिडिरहेका छन्।
भोकको आँधीले मजदुरहरूलाई लछारपछार गरिसकेपछि नजिक र टाढाको प्रबाह नगरी हिडिरहेका छन् सडकभरी। तर हाम्रो सरकार अन्धो छ , बहिरो छ । फेसबुकको भित्ताभरी भोकै र थकित अवस्थामा सडकभरी हिडेका मजदुरहरूको फोटो देख्दैन। घन्टै पिच्छे टिभि र एफ.एम रेडियोहरुबाट चर्को आवाजमा भनिरहेका खबरहरू सुन्दैन न त आफैले देख्छ। चुनाबमा भोट चल्ने त्यहि जनताहरुलाई चोट पर्दा वास्ता नगर्ने हामी कस्तो सरकारके शाशन गरेको देशका नागरिक हौ ?
सरकारका चम्चाहरू भनिरहेका छन् ‘ खान नपाएर कोहि भोकै छैनन् , तस्वीरहरूको दुरुपयोग गरिरहेका छन् , सरकारको बदनाम गरिरहेका छन् ” । भन्दै सरकारको कमि कमजोरीहरूलाई भारी ढाकछोक गरिरहेका छन्। एक दिन अनावश्यक भारी समर्थनले आफैलाई थिच्ने पक्का छ। किन कि ,चाहिने भन्दा धेरै उज्यालोले मानिसको आँखा बिगार्ने गर्छ।
मजदुरहरू सडकभरी हिडिरहेका छन् । मजदुरहरुको भोक प्यास देखेर उनीहरुलाई खाना/ खाजाको व्यवस्थापनको लागि ठाउँ-ठाउँमा स्थानीय मनकारीहरू आफै जुटिरहेका छन्। तर त्यहि मजदुरहरुको भोटले जितेका नेताहरू कुन दुकोमा लुकिरहेका छन् ? सरकारको यस्तो ब्यबहार प्रति मदुरहरुको आक्रोश हुनु स्वाभाविक हो। अब भने चुनावमा उनीहरुले हाम्रालाई होइन राम्रालाई जिताउने छन्।
ओ प्रिय मान्छे ! सडकमा मजदुरहरू अलपत्रमा छन्, सर्वाच्च अदालत भन्छ पैदल हिडेकाहरुलाई घरसम्म पुर्याइदेउ। सरकार भन्छ , जहाँ पुगेका छौ त्यहि बस। सर्वाच्च अदालत र सरकारको यस्तो जुहारीले मजदुरहरू झन् मर्कामा परिरहेका छन्। पैदलायात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनु के सरकारको दायित्व होइन र ? देशमा लकडाउन लागु गरी सरकार मस्त निदाइरहेझै लाग्छ यतिबेला। छि !
देश लकडाउन गरी जनतालाई घरैमा थुनेर सरकारले भ्रष्टाचारका ठुला- ठुला पोकाहरू खोलिरहेका छन् । हाम्रा प्रधानमन्त्री भन्छन् भ्रष्टाचार गर्दिन र गर्नेहरूलाई कडा कारबाही गर्छु, तर सबै जनतालाई थाह भैसक्यो भ्रस्टचारको सम्बन्धमा प्रधानमन्त्रीको देखाउने दांत र चपाउने दाँत छुट्टाछुट्टै छन्। उखान टुक्का र गफैमा अरुलाई रनभुल्लमा पर्न सक्ने देशका प्रधानमन्त्री ८० करोडको राहत बाडिसक्यौ भन्छन् तर राहत नपाएर जनता भोकभोकै तड्पिरहेका छन्। केहीलाई राहत बाडिरहेका ज्ञानेन्द्र शाहीलाई पक्रेर निकै ठुलो जीत हासिल गरेको ठानिरहेको होला।
ओ प्रिय मान्छे ! सरकारले बाडेका राहत पनि छन् छ न त , तर सत्ता र शक्तीको आडमा मौका छोप्नेहरुको लागि यो संकट पनि उत्सव बनिरहेको छ। शरीरमा अत्तर लगाएर दिमागभारी गन्हाउने सोच पालेका केही स्थानीय जनप्रतिनिधिहरू , वास्ताविक राहत पाउनुपर्ने जनतालाई पाखा लगाएर आफ्ना कार्यकर्ता र आसेपासेहरूलाई मात्र राहत वितरण गरिरहेका छन्।
सरकारमा बस्ने मान्छेहरू सुकिला कपडा लगाएर घिन लाग्दो ब्यबहार किन गर्छन् होला ? जनतालाई भात चाहिरहेको बेला सरकार बात गरेर मात्र बसिरहेको छ। राहत पाउन र देशमा सरकार भएको आभाष पाउन तिनीहरुकै झोला बोक्नुपर्ने र सरकारले गरेका जुनसुकै गलत कामहरुको पनि अन्धभक्त भई राम्रो हो भनिरहनुपर्ने यो तीतो यथार्थ तिमीलाई कसरी सुनाउँ ? ओ प्रिय मान्छे।
प्रबासमा रेमिट्यान्स पठाउदै गरेका नेपाली दाजुभाइहरू आफ्नै देश फर्कन पाए हुन्थ्यो , यो महामारीमा परिवार संगै बस्न पाए हुन्थ्यो भनेर सोचिरहेका छन् , तर सरकार भने अझ केहि समय पर्खान लगाउन पट्टि लागिरहेको छ। भुटानले आफ्नो दुइ जना नागरिकको लागि बिमान चार्टर्ड गरेको खबर आइरहेको थियो तर हाम्रो सरकार भने यो विषयमा मौन बसिरहेका छन्। रेमिट्यान्स देश भित्रीन्जेल त्यहि जनता प्यारो भयो , रेमिट्यान्स भित्रिन छाडेपछि त्यहि जनता सरकारको लागि भार हुदैछ। समाज मात्र होइन हाम्रै सरकार पनि बलेको आगो मात्र ताप्ने त रहेछ नि !
प्रिय मान्छे ! लकडाउन कोरोना भाइरसको उपचार होइन हुन त तर अहिले कोरोनाबाट बच्न उत्तम उपाय यहि भैरहेको छ। नेपालमा कोरोना संक्रमित ४५ जना पुगे संगै कोरोना भाइरसले हामीलाई अझ सजक र सतर्क अपनाउन दवाड दिइरहेको छ। त्यसैले सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर। हाम्रा घर बाहिर नै कोरोना भाइरस गोमन सर्प भएर डुलिरहेको छ। त्यसैले घर भित्रै बस। हिउँदे स्वाद लिदै गरेको हाम्रो माया , अहिले बर्षे स्वाद लिइरहेको छ। तर लकडाउन खुल्ने आत्तोपत्तो छैन। र पनि हामी भेट नहुनुमा कुनै चिन्ता होइन। म फेरी पनि भन्छु , यो लकडाउनले हामीलाई भेट हुन पो दिएन , फराकिलो छातीमा अटाएसम्म सम्झिरहन त कसैले रोकेको त छैन नि , ओ प्रिय मान्छे ।
नवराज “क्षितिज “
भरतपुर-११
चितवन।