गिद्ध पर्यटनको ‘हब’ बन्दै नवलपुर
नवलपुर, मंसिर १०-
जङ्गलको बीचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ । मचानमा देशी र विदेशी पर्यटक खचाखच छन् । जसले फोटो र भिडियो खिच्नका लागि अत्याधुनिक क्यामरालाई तयारी अवस्थामा राखेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ, जब हेरालु यामबहादुर नेपालीले मरेको गाईलाई डोरीले बाँधेर मोटरसाइकलमा घिसार्दै त्यही चौरमा प्रवेश गराउनुहुन्छ, रुखका टुप्पामा बसेका सयौँ गिद्ध एकैसाथ मैदान प्रवेश गर्छन् र मरेको गाईलाई लुछ्न थाल्छन् । केही मिनेटमै गाईलाई सिध्याउँछन् र मैदानलाई कुचीकारले जस्तै सफा गर्छन् ।
नवलपुरको कावासोती नगरपालिका–१३ मा रहेको जटायु रेस्टुरेन्टमा गिद्धको यही दृश्य अवलोकन गर्न र अनुसन्धानका लागि नेपाली र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । आहार खुवाउने बेलामा धेरै गिद्ध आउने भएकाले गिद्ध अवलोकनका लागि पर्यटक आकर्षित भएका यामबहादुरले बताउनुभयो । जटायु रेस्टुरेन्टले आहारका रूपमा हरेक तीन दिनमा मरेका जनावरको मासु खुवाएर गिद्ध संरक्षण अभियानलाई निरन्तरता दिइरहेको छ ।
नवलपुरलाई गिद्ध पर्यटनको हबका रूपमा विकास गर्ने प्रयास गरिरहेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले बताउनुभयो । “नेपाल र विश्वकै लागि पनि एउटा मोडेल हुने गरी हामी गिद्ध पर्यटनको अभियानमा छौँ । गिद्ध अवलोकनका लागि देश विदेशबाट धेरै आउनुहुन्छ,” चौधरीले भन्नुभयो, “यहाँ भुँइमा, रुखमा धेरै गिद्ध हुन्छन्, गिद्धलाई असर नगर्ने र पर्यटक पनि खुसी हुने गरी निश्चित मापदण्ड अपनाएर हामीले पर्यटकलाई भित्र्याउँछौँ ।”
वातावरण, कानुन, जैविक विविधता र पर्यटनमैत्री अभियानले यहाँका स्थानीयलाई पनि रोजगारी र आर्थिक लाभ हुने उहाँको भनाइ छ । मौसम अनुसार पर्यटक आउने भएकाले अहिलेको मौसम पर्यटनका लागि उपयुक्त भएको र मासिक हजारौँको सङ्ख्यामा आएको चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ अहिलेसम्म गिद्धकै बारेमा झन्डै १५ जना नेपाली विद्यार्थीले स्नातकोत्तर तहको शोधपत्र नै तयार पारेका छन् भने विभिन्न देशका सयौँ विद्यार्थीले अनुसन्धान गरेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।