नारायणगढ-मुग्लिन सडकमा ट्रक दुर्घटनाः मृतक दुई जनाको पहिचान खुल्यो
चितवन,मंसिर १०-
नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।
चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मृत्यु हुनेमा मकवानपुरको मकवानपुर गढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाँई र सोही ठाउँका ३१ वर्षीय दिपक दाहाल रहेको उहाँले बताउनुभयो ।
घाइते तीन जनाको भरतपुरमा उपचार भइरहेको छ । घाइते मकवानपुर हेटौडा उपमहानगरपालिका १८ का दलबहादुर कोइराला र मकवानपुरगढी गाउँपालिका ६ का २७ वर्षिय सुसन विकको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रकका चालक सकुसल रहेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात केहीबरे अबरुद्ध भएको सडकखण्ड सुचारु भएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।