हुँदा हुँदा नेपालमा चीनको ‘गुन्द्रुक’

गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, हामी जस्तै विदेशमा रहने हरेक नेपालीका भान्छामा यो पुग्ने गरेको पनि छ ।
निर्यातलाई आयातले थिचेको हाम्रो देश नेपालमा गुन्द्रुकसमते चीनबाट ल्याईदो रहेछ । रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३/०७४ मा ७ सय ३ किलो र २०७४/०७५ मा १ सय ४० किलो गुन्दुक भित्रिएको हो ।
व्यापारीहरुका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैंयाँ देखि २ सय ५० रुपैंयाँ छ ।
आयात हुनेमा रायो र तोरीको गुन्द्रुक बढी रहेको खबर आजको कान्तिपुर दैनिकमा छ ।
अरु के के आयात हुन्छन त ?
रसुवागढी नाका हुँदै चीनबाट चार महिनाको अवधिमा साँढे ३७ करोड बराबरको सामग्री आयात भएको छ । साउनदेखि हालसम्म सात हजार चार सय १३ मेट्रिक टन सामग्री आयात भएको र यो ३७ करोड ५६ लाख रुपियाँ बराबरको हो ।
२०७१ सालदेखि सञ्चालनमा आएको रसुवागढी नाकाबाट पछिल्लो समय आयात बढ्दै गएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जानकारी दिएको छ । नेपालीको भान्छामा दैनिक रूपमा प्रयोग हुने स्याउ, नास्पाती, लसुन, प्याज, ओखर, पिठोलगायतका सामग्री ठूलो परिमाणमा आयात हुने गरेको छ ।
यस नाकाबाट स्याउ, रेडिमेट मसला र रेडिमेट अचारको आयातमा वृद्धि भएको छ । साढे तीन टन रेडिमेड अचार आयात गर्दा साढे तीन लाख रुपयाँ बाहिरिएको छ । करिब १० हजारको एक सय ९१ केजी रेडिमेट मसला आयात भएको कार्यालयले जनाएको छ ।
३५ करोड ३६ लाख ९६ हजार बराबरको सात हजार ७४ मेट्रिक टन स्याउ, एक करोड १७ लाखको दुई हजार ३४० मेट्रिक टन लसुन, ४० लाखको ८० मेट्रिक टन नास्पाती, एक लाख १३ हजारको एक टन भोटे चिया, ५० हजारको दुई सय केजी कफी, छ हजारको ४० केजी बदाम, तीन हजार ६० को ८५ केजी क्वाची र दुई लाख ९४ हजारको १२० किलो च्याउ आयात भएको क्यारेन्टाइनले जनाएको छ ।
तिहारको समयमा बढी प्रयोग गरिने ओखर पनि यो पटक चीनबाट ल्याइएको छ । तिहारका लागि २० टन ओखर रसुवागढी नाका हुँदै आयात गरिएको हो । उक्त ओखरको मूल्य २८ लाख ८० हजार रहेको छ ।
काठमाडौँमा बसिरहेका तिब्बतीय नागरिकले प्रयोग गर्ने ४० मेट्रिक टन पिठो आएको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले बताउनुभयो । उनले भने, काठमाडौँमा बस्ने तिब्बतेलीका लागि १२ लाख ११ हजार रुपियाँ बराबरको पिठो चीनबाट भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्षमा चीनबाट ३४ टन प्याज आयात भएकोमा यो वर्ष भने पहिलो चार महिनामा नै ३३ मेट्रिक टन प्याज ल्याइएको छ । रसुवागढी नाका हुँदै करिब तीन करोड बराबरको वनजन्य सामग्री निर्यात भएको छ ।
क्वारेन्टाइनले दिएको जानकारी अनुसार आर्थिक वर्षको पहिलो चार महिनामा मुडा र काठको टेबुल निर्यात गर्दा दुई करोड ८२ लाख १२ हजार पाँच सय आम्दानी भएको छ । आठ हजार ८५० मुढा निर्यात गर्दा २२ लाख १३ हजार पाँच सय र तीन हजार दुई सय ५० केजी काठको टेबल निर्यात हुँदा दुई करोड ६० लाख नेपालले आम्दानी भएको छ ।
प्लान्ट क्वारेन्टाइन अधिकृत यादवका अनुसार काठकोे टेबलको व्यापारीले कति सङ्ख्यामा आएको भन्ने उपलब्ध नगराएको र प्रतिकिलोको हिसाबमा लिएको भन्दै बिल पेस गरेका छन् । – गोरखापत्र अन्लाईन