जुम्ला साक्षर जिल्ला घोषणा
काठमाडौं, मंसिर १३-
कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो।
जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले ब्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गरे भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका आठै वटा स्थानीय तहले तयार पारि शिक्षा विकास तथा समन्वय एकाइ पठाइएको एकीकृत तथ्याङ्क पढेर सुनाउदै साक्षर जिल्लाको घोषणा गरे।
जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६ दशमलव ०७ प्रतिशतले साक्षर भएको छ।
उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५ दशलमव ७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८ दशमलव १९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिँजा गाउँपालिका ९५ दशमलव ५ प्रतिशत, पातारासी गाउँपालिका ९५ दशमलव २४ प्रतिशत, तातोपानी गाउँपालिका ९५ दशलमव ७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५ दशमलव ४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५ दशलमव ७३ प्रतिशत नागरिक साक्षर भएका छन्।
स्थानीय तहले यस अघि घोषणा गसिकेपछि जिल्ला घोषणाका लागि मापदण्ड अनुसार साक्षर जिल्ला आवश्यक भएकाले २०८१ मङ्सिर ९ गते बसेको साक्षर अभियान जिल्ला समन्वय समितिले ११ गते घोषणा गर्ने निर्णय गरेको थियो।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।