कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गर्ने सर्वदलीय सहमति

काठमाडौँ, मंसिर १६
आइतबार साँझ मतदान सम्पन्न भएको कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गरिने भएको छ । साँझ बसेको सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सुरुमा वडा नं १ बाट गणना गरिनेछ। वडा नं १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नं वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ ।
मेयरमा जस्तै १ नं र ४ नं वडाका वडाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो । कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जन छन् । यस्तै स्वतन्त्र राजमान मानव छन् । मुख्यगरी यी चार उम्मेदवारका बीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
गत निर्वाचनमा त्यहाँबाट कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मतका साथ निर्वाचित बनेका थिए । तर, उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।