मुगाबेले दिए राजीनामा

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएका छन् । ३७ वर्षसम्म जिम्बाबेमा एकछत्र शासन गरेका मुगाबेले मंगलबार राजीनामा दिएका हुन् । सहज ढंगले शक्ति हस्तान्तरणका लागि आफूले स्वेच्छिक राजीनामा दिएको उनले बताए । सन् १९८० मा बेलातयतबाट स्वतन्त्र भएपछि मुगाबेले जिम्बाबेमा शासन गरेका थिए । जिम्बाबेको संसद्ले मुगाबेलाई महाभियोग लगाउने अन्तिम तयारी गरिरहेकै वेला मुगाबेले अकस्मात राजीनामा दिएका दिए । महाभियोगबारे संसद्को गतिविधि चलिरहेकै वेला राजीनामा दिएको पत्र मुगाबेले संसद्का सभामुखलाई पठाएका थिए ।

मुगाबे गत बुधबारदेखि सेनाको नजरबन्दमा थिए । मुगाबेनिकट व्यक्तिले आर्थिक अनियमितता र आपराधिक कार्य गरेको आरोप लगाउँदै सेनाले उनलाई नजरबन्दमा राखेको थियो । नजरबन्दमा राखेपछि सेनाले मुगाबेलाई राजीनामा दिन दबाव दिएको थियो । उनीमाथि पत्नी ग्रेस मुगाबेलाई संवैधानिक शक्ति हत्याउन सहयोग गरेको आरोप सेनाले लगाएको थियो । तीन दिनअघि मात्र मुगाबेको पार्टी जानु–पिएफले उनलाई पार्टी नेताबाट निष्कासित गरेको थियो । दुई दिनभित्र राजीनामा दिनसमेत पार्टीले उनलाई अल्टिमेटम दिएको थियो ।

मुगाबेले नोभेम्बर ६ मा उपराष्ट्रपति इमर्सन मनंगवालाई पदमुक्त गरेर आफ्नी पत्नी ग्रेसलाई उत्तराधिकारी बनाउने तयारी गरेका थिए । मुगाबेको सो कदमविरुद्ध केही दिनअघि राजधानी हरारेमा विशाल प्रदर्शन भएको थियो ।

९३ वर्षीय मुगाबेले सन् १९८० मा बेलायतबाट स्वतन्त्र भएपछि जिम्बाबेमा शासन गरेका थिए । मुगाबेलाई राजीनामा गर्न उनकै पूर्वसहकर्मी तथा निवर्तमान उपराष्ट्रपति इमर्सनको हात रहेको जनाइएको छ । इमर्सनको सेनामा राम्रो प्रभाव रहेको बताइन्छ ।

राजीनामापछि खुसियाली

मुगाबेले राजीनामा दिएपछि राजधानी हरारेलगायत मुख्य सहरहरूमा खुसियाली मनाइएको छ । मुगाबेले राजीनामा घोषणा गरेलगत्तै स्वतस्फूर्त रूपमा सर्वसाधारण नागरिक सडकमा उत्रिएर खुसियाली मनाएका थिए । ‘अहिले म यस संसारकै खुसियाली व्यक्ति हुँ । मुगाबेले कहिले राजीनामा देलान् भनेर पर्खिरहेको थिएँ,’ हरारेका मानवअधिकारवादी कार्यकर्ता लिन्डा मसारिअले भनिन् । मुगाबेको राजीनामापछि सम्पूर्ण देशवासी नै हर्षित भएको अर्का एक व्यक्तिले बताए । यसैबीच जिम्बाबेको प्रमुख विपक्षी नेता मोरगान भागिराईले जानु–पिएफ शासनको अन्त्यको माग गर्दै देशमा निष्पक्ष निर्वाचनको माग गरेका छन् ।

संकट चुलिरहेकै वेला दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाका र एंगोलाका नेता जोआ लोउरेन्को बुधबार जिम्बाबे जाँदै छन् । जिम्बाबेको संकटबारे छलफल गर्न मंगलबार अफ्रिकी ब्लक दक्षिण अफ्रिकी विकास समुदायका नेताहरूको आकस्मिक बैठक एंगोलामा बसेको थियो ।
मुगाबेको राजीनामाले जिम्बाबेलाई तानाशाहरहित नयाँ मार्ग कोर्न अवसर दिएको बेलायती प्रधानमन्त्री थेरेसा मेले बताएकी छिन् । जिम्बाबेमा हुने स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई सहयोग गर्ने उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button