आपराधिक गिरोहसँग दुर्गा प्रसाईंको सम्बन्ध : प्रहरी

काठमाडौं, मंसिर १९-

भारतीय आपराधिक गिरोह ‘लरेन्स विस्नोई’ को नाम लिएर नेपालका व्यवसायीहरूलाई ज्यान मार्ने धम्की दिने झापाका हरिसचन्द्र फुयाँल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिच प्रहरीले निरन्तर सम्पर्क रहेको फेला पारेको छ ।

भारतबाट नेपालका व्यवसायीलाई निरन्तर ज्यान मार्ने धम्की दिँदै फिरौती माग गरेको उजुरीपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फुयाँललाई झापाको मेचीनगरबाट गत बिहीबार पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

किर्ते कागजपत्र प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर अपराध ब्युरोले प्रसाईंलाई यही मङ्सिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन तथा किर्ते गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले हिरासतमा रहेका दुवै जनाबिच विगतमा पटक पटक दोहोरो संवाद र लेनदेनसमेत पाइएकाले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

नेपालमा लामो समयदेखि व्यवसाय गरिरहेका व्यक्तिमाथि प्रसाईंले विभिन्न आरोप लगाउँदै ती व्यवसायीमाथि दुव्र्यवहार गर्न सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । यता भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने प्रसाईंबिच दोहोरो सम्बन्ध देखिएपछि सिआइबीले यो संयोग मात्र हो वा नियोजित हो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

आपराधिक समूह ‘लरेन्स विस्नोई’ को नामबाट फुयाँलले भारत र दुबईका नम्बरबाट नेपालका व्यवसायीलाई पटक पटक धम्की दिने गरेको खुलेको छ । यस्तो धम्की फुयाँलले प्रसाईंकै निर्देशनमा दिने गरेका केही आधार प्रहरीले फेला पारेको छ ।

नवीन प्रधानका नामबाट भारतको आधारकार्डसमेत लिएका हरिच‍न्द्र फुयाँल भारतको आसाम र पानीट्याङ्कीमा बसोबास गरेको र विगतमा पनि आर्थिक अपराधमा जोडिएको खुलेको छ ।

आर्थिक अवस्थासमेत कमजोर रहेका फुयाँलले प्रसाईंबाट प्रलोभनमा परी व्यवसायीहरूलाई धम्की दिने गरेको स्वीकार गरेको र त्यो आपराधिक गिरोहसँग सम्बन्ध रहे नरहेको बारे पनि सिआइबीले अनुसन्धान गरिरहेको जनाइएको छ । साइबर ब्युरोको हिरासतमा रहनुभएका प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । प्रसाईंकै सहयोगी फुयाँललाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button