मौसमी फ्लूको खोप भोलि देखि निशुल्क उपलब्ध हुने

सार्वजनिक स्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम (पीएचसीसी) र हमाद मेडिकल कर्पोरेशनले संयुक्त राष्ट्रिय इन्फ्लूएन्जा खोप अभियान आजबाट हमाद बिन खलीफा मेडिकल सिटीमा सुरु गरेको छ।
खोप ६ महिना भन्दा माथिका मनिस सबैका लागि सुरक्षित रहेको र भोली देखि सबै सरकारी स्वास्थ्य केन्द्र र ४० भन्दा बढी निजी तथा अर्ध-सरकारी केन्द्रहरुमा खोप निःशुल्क उपलब्ध हुनेछ ।
मार्च २०२१ सम्म जारी रहने अभियान अन्तर्गत ५ लाख भन्दा बढी खोप लगाइने बताईएको छ ।
कोभिड-१९ विरुद्ध राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष तथा हमद मेडिकल कर्पोरेशन अन्तर्गत संक्रामक रोग प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले फ्लू खोपको महत्त्वको बारेमा बोल्दै कोरोनाभाइरस महामारीको बीचमा यस बर्ष फ्लूको खोप लिन महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।
कोरोना भाइरस र फ्लू दुवैको समान लक्षणहरू छन् । फ्लू र कोरोनाभाइरस दुवैको संक्रमणले हुँदा गम्भीर जटिलता निम्त्याउन सक्ने हुँदा खोप लगाउन सबैमा उहाँले आग्रह गर्नुभएको छ ।