अनेरास्ववियु चितवनको प्रशिक्षण कार्यक्रम सौराहामा

चितवन, मंसिर २२-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवनको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम जारी छ ।
हिजो (शुक्रवार)देखि सौराहामा सुरु भएको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियुका जिल्ला, नगर र क्याम्पस कमिटीका गरी १०० जना विद्यार्थीहरुको उपस्थिति रहेको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जानकारी दिए ।
शुक्रवारको प्रशिक्षणमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेको आर्थिक नीति एवम् हालसम्म नेकपा एमालेको सरकारले गरेका महत्वपूर्ण उपलब्धिहरु, पार्टी केन्द्रीय सदस्य माधव ढुंगेलले वर्तमान अवस्थामा आन्दोलनको अवसर र चुनौती एवम् विद्यार्थीको बढ्दो वैदेशिक पलायनका चुनौतीहरु, अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकायाले स्ववियुमा अनेरास्ववियुको भूमिका, एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले चितवनमा कम्युनिष्ट आन्दोलनको इतिहासका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण सकिएपछि एमाले चितवनका सदस्य एवम् विद्यार्थी इन्चार्ज अनोज जोशीसँग वाक द टक भएको थियो ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सचिव अमित आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, अनेरास्ववियु केन्द्रीय सचिव सुजन कडरिया, नेकपा एमाले केन्द्रीय विभाग सदस्य ऋषिकेष रेग्मी र अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन इन्चार्ज अमित कुमार गुप्ताले मन्तव्य दिएका थिए । कार्यक्रममा चितवनबाट प्रतिनिधित्व गर्ने अनेरास्ववियुका केन्द्र र प्रदेश स्तरका नेताहरुको समेत उपस्थिति रहेको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।