बेलकोटगढीमा छसय बढी योजना उपभोक्ता समितिको जिम्मेवारीमा

त्रिशूली (नुवाकोट),मंसिर २२-

नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्षमा छ सय २५ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको छ । वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमार्फत तयार गरेर सभामार्फत अनुमोदित भएका ती योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई जिम्मेवारी दिन थालिएको हो ।

योजना कार्यान्वयनका लागि नगरपालिकाले वडा कार्यालयको रोहवरमा गठन भएका समितिलाई जिम्मा लगाउन सुरु गरेको नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छ सय २५ वटा योजना कार्यान्वयन गर्न रु १५ करोड हाराहारीको बजेट छुट्याइएको छ ।

योजनाको सम्झौता वडा कार्यालयमा
बेलकोटगढीले उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको योजनाको सम्पादन सहज बनाउन वडा कार्यालयमा शिविर सञ्चालनमा ल्याएको छ । पालिकामा नै जानुपर्ने बाध्यता हटाई उपभोक्तामार्फत सञ्चालन गरिने योजनालाई वडा कार्यालयमा सम्झौता गरेर जिम्मा लगाउन थालिएको हो । यही मङ्सिर १७ गतेदेखि सञ्चालनमा आएको शिविर आगामी पुस ३ गतेसम्म चल्नेछ ।

भौगोलिक रूपमा ठूलो रहेको नगरपालिकाको कार्यालयसम्म उपभोक्ता समितिका पदाधिकारीलाई आउजाउ गर्न समस्या हुने देखिएपछि वडा कार्यालयबाटै योजनाको सम्झौता गर्ने सेवा उपलब्ध गराइएको हो ।

नगर प्रमुख गुरुङका अनुसार विनियोजित योजना तथा कार्यक्रम एवम् बजेटको प्रशासनिक तथा प्राविधिक पक्ष पूरा भएर कार्यान्वयनका लागि उपभोक्ता समितिसँग योजना सम्झौताका लागि वडावडामा शिविर चलाइएको हो । “उपभोक्ता समिति गठन भइसकेका वडालाई प्राथमिकता दिँदै वडा कार्यालयबाट योजनाको सम्झौता र योजना कार्यान्वयनका सम्बन्धमा अभिमुखीकरण सञ्चालनमा ल्याइएको छ ।” नगरप्रमुख गुरूङले भन्नुभयो, “वडा कार्यालयमा गरिने सम्झौताले लाभग्राही वडावासीलाई योजना प्राप्त भएको सूचना प्रवाह गर्न सहज हुनेछभने उपभोक्ता समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन सहयोग पुग्नेछ ।”

प्रभावकारी योजना कार्यान्वयनका लागि अभिमुखीकरण

योजना सम्झौतासहित उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनको चरणका सम्बन्धमा अभिमुखीकरणसमेत गर्नुपर्ने हुँदा जनप्रतिनिधि र कर्मचारी सम्मिलित नगरपालिकाको ‘टिम’ शिविर लिएर प्रत्येक वडामा पुग्न तालिका बनाइएको छ ।

वडामा सञ्चालन हुने योजना कार्यान्वयन गर्न सार्वजनिक भेलामार्फत यसअघि गठन भएका उपभोक्ता समितिसँग नगरका तर्फबाट सम्झौता गरेर ती योजना कार्यान्वयनका क्रममा अपनाइने प्रशासनिक, आर्थिक, कानुनी, प्राविधिक विषयमा जानकारीसमेत उपलब्ध गराउन थालिएको उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरप्रमुख र उपप्रमुखले योजना कार्यान्वयनका लागि तोकिएको सयममा गुणस्तरीय काम गर्न निर्देशन दिँदै नमूना काम गर्ने उपभोक्ता समितिलाई सम्मान र आवश्यकताका आधारमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।

योजना सम्झौता शिविरमा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठ, लेखा अधिकृत गोविन्द प्याकुरेल, प्रशासन तथा योजना अनुगमन शाखा प्रमुख दीपक थिङले समितिको नाममा बैङ्क खाता सञ्चालन, योजना कार्यान्वयनका क्रममा गरिने खरिद सामग्रीको बिलबीजकमा अपनाउनुपर्ने सावधानी, पान नं प्राप्ति, भुक्तानी मागका क्रममा पूरा गर्नुपर्ने प्रक्रियालगायत उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गराइएको छ ।

विभिन्न तेह्रवटा वडा रहेको बेलकोटगढीमा चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सम्पादन गर्नुपर्ने योजनाको सङ्ख्या छ सय २५ वटा रहेको छ । भौगोलिक रूपमा बेलकोटगढीको भूगोल ९१५५ दशमलव ६ वर्ग किलोमिटर० भएकाले भक्तपुर जिल्लाभन्दा ठूलो छ । सङ्घीयताको मर्मअनुरूप योजना सम्झौता सेवालाई वडा तहमा पुर्‍याए जस्तै बेलकोटगढीले कृषि र पशु विकास, महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिकलगायत शाखाले प्रवाह गर्ने सेवालाई समेत वडा र बस्तीसम्म लैजाने नीति अवलम्बन गर्ने जनाएको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button