काँग्रेसद्वारा मन्त्री बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध , आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा

प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ ।
मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
संसद बैठक केहीबेरमा बस्दैछ ।
कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको छ ।
बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको प्रशिक्षण अभियान लगायतका अन्य विषयमा छलफल भइरहेको स्रोतले बतायो।
म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताए ।
“म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफँैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”
– नारायणी अन्लाईन