चार चरणमा कोरोनाभाइरसको खोप लगाइने

कतारको स्वास्थ मन्त्रालयले हिजो एक पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरसको निशुल्क खोप वितरणको चरण बारे विस्तृत गरेको छ । मन्त्रालयको अनुसार २०२१को अन्त्य सम्ममा सम्पुर्ण नागरिकलाई खोप वितरण गरिनेछ । हालसम्म ५० हजार बढीले खोप लगाइसकेको र ९० हजार बढीले खोप लगाउनका लागि आफ्नो नाम दर्ता गरिसकेका छन् ।
त्यसका साथै अबको १० दिन भित्र मोडर्ना कम्पनीको खोप पनि कतार आइपुग्नेछ । गएको साता देखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको मन्त्रालयले बताएको छ ।
हिजोको पत्रकार सम्मेलनमा राष्ट्रिय महामारी महासचिव समितिका सह-अध्यक्ष डाक्टर अब्दुल्लातिफ अल खल, स्वास्थ्य सुरक्षा तथा सञ्चार रोग नियन्त्रण विभागका निर्देशक डाक्टर हमाद अल रुमैहि र पीएचसीसीका प्रबन्ध निर्देशक डाक्टर मरियम अब्दुलमालिक उपस्थित थिए।
पहिलो चरण (डिसेम्बर ९,२०२० देखि ३१ मार्च २०२१ सम्म)
- कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी ।
- प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टीम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज)
- ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु ।
- भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु ।
- ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु ।
- अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारी ।
दोस्रो चरण (अप्रिल १ देखि जून ३०, २०२१ सम्म)
- पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु । भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू ।
- खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू । बाँकी शिक्षा क्षेत्रका कर्मचारी ।
- पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू । ४० वर्ष भन्दा माथिका व्यक्तिहरु ।
तेस्रो चरण (जुन १ देखि जुलाई ३१, २०२१ सम्म)
- युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि )।
- पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरु ।
चौथो चरण (अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म)
पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरु ।