शेरबहादुर देउवा देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित


POST PHOTO/PRAKASH CHANDRA TIMILSENA
कांग्रेस सभापति देउवा देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेलको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
देउवाको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतका दलका सांसदले देउवाको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक सय ७० मत परेको थियो । व्यवस्थापिका–संसद्मा ५ सय ५८ सदस्य उपस्थित रहेको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
यी हुन् देउवाले प्रधानमन्त्री भएलगत्तै बन्ने कांग्रेस मन्त्रीहरु
आज प्रधानमन्त्रीमा चुनिएपछि देउवाले दोस्रो चरणको निर्वाचन अघि सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।देउवाले कांग्रेसको तर्फबाट गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । उनलाई उपप्रधानमन्त्री बनाउने अन्तिम तयारीमा दायाँबायाँ भए उपप्रधानमन्त्री अर्का नेता कृष्णप्रसाद सिटौलाले उछिट्याउने भएका छन् ।
अर्थमन्त्रीमा महेश आचार्य वा ज्ञानेन्द्रबहादुर कार्की बन्ने निश्चित जस्तै छ । त्यस्तै, वीरबहादुर बलायर, बहादुरसिंह थापा, फरमुल्लाह मन्सुर पनि मन्त्री बन्ने भएका छन् ।