३७१ मिलियन डलरमा कतारले भोडाफोन किन्यो

एजेन्सी
अन्तराष्ट्रिय टेलिकम कम्पनी भोडाफोनले आफ्नो भागको शेयर कतारलाई बेचेको छ।भोडाफोन कतार अन्तर्गत कम्पनीले रातो ब्रान्ड राख्ने शर्तमा आफ्नो हिस्सा कतार फाउन्डेसनलाई ३७१ मिलियन अमेरिकी डलरमा बेच्ने घोषणा हिजो गरेको हो।
एजेन्सीको अनुसार विश्वकै दोस्रो ठूलो मोबाइल अपरेटर भोडाफोनले व्यवसाय पोल्याण्ड,चीन र फ्रान्समा थप विस्तार गर्ने हिसाबले शेयर बेचेको बताएको छ।बेलायती कम्पनीले कतारलाई आफ्नो हिस्सा बेचे पनि संयुक्त सम्झौता अनुरुप आगामी पाँच वर्ष सम्म रातो ब्रान्ड परिवर्तन नहुने जनाएको छ।
“भोडाफोन कतारमा” भोडाफोन र कतार फाउन्डेसनको ४५ प्रतिशत शेयर छ भने बाँकी कतार सरकार र अन्य लगानीकर्ताहरुको रहेको छ।त्यस्तै सो संयुक्त लगानीको ४५ प्रतिशत शेयरमा भने भोडाफोनको ५१ प्रतिशत हिस्सा रहेको थियो।कम्पनीले मोबाइल र ल्यान्डलाईन मार्फत १० लाख भन्दा बढि उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।