ब्लड मनी बुझाएर रानाभाट नेपाल पुगे

योगेन्द्र योगी / दोहा
भारतीय कामदारको हत्या आरोप लागेर कतारको जेलमा रहेका चितवनका विनोद रानाभाट नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि क्लिनरको पदमा कामका लागि करिब तीन वर्ष अघि कतार आएका रानाभाट कतारस्थित ओक्रा जेलमा थिए ।
आपसी झगडामा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतीय कामदारको मृत्यु भएको थियो । घटना लगत्तै उनलाई कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।
मुद्धाको फैसला अनुसार रानाभाटले भारतीय कामदारको परिवारलाई ब्लड मनी रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने थियो ।
उनको आर्थिक अवस्था कमजोर रहेकोले विनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनको उद्दार गरिएको हो । यस सहयोग कार्यमा सहयोग गर्नुहुने सबै नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा अभियानका प्रमुख अर्जुन भुषालले धन्यवाद दिएका छन् ।